विप्लव समूहमाथि गोकुल बास्कोटाका दर्जनौं आरोप - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

विप्लव समूहमाथि गोकुल बास्कोटाका दर्जनौं आरोप



काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा विप्लव समुहसंग फेरी आक्रामक देखिएका छन् । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको पनि जिकिर गरेका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले विप्लव समूहका क्रियाकलाव नागरिकमा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित आतंकबादी संगठन भन्दा अरु हुने नसक्ने बताएका छन् ।

कार्यक्रममा उनले भनेका छन्, ‘कुरा क्रान्तिकारी, परिणाम दक्षिणपन्थीहरुलाई टेवा पुर्याउने हो उनीहरुको । दक्षिणपन्थीहरुको सेवा गरिरहेको छ विप्लव भन्ने आतंककारी समूहले । यो आतंककारी नै हो । आपराधिक नै हो संगठित रुपमा ।’

बास्कोटाले सरकारले वार्ता आह्वान गर्दागर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी समेत गरे । उनले भने, ‘उनीहरू जम्माजम्मी उपयोगितावादी हो । अराजकतावादी हो । लुटेरा समूह हो । क्रमशः संगठित आतंकवाद हो । सामाजिक फासिवाद पनि हो । त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन । चुनाव लड्ने हुती छैन । कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरेर मान्छेलाई दिनहुँ तर्साएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैँन ।’ ढुक्क भए हुन्छ ।

सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै बास्कोटाले विप्लव समूहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गरे।

बास्कोटाले भने, यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा । क्षति व्यहोर्ने विप्लवहरूले नै हो । हाम्रो अनुरोध छ । क्षतितर्फ नजाऊँ समय छ । आउनुहोस् छलफल गरौँ ।’ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक परिर्वतन भइसकेको भन्दै उनले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई नागरिकले स्वीकार नगर्ने चेतावनी दिए ।

मन्त्री बाँस्कोटाले भने, ‘वार्तामा नआउने । दाउपेच गर्दे आफूहरुमाथि निगरानी छोड् भनिरहने । आफ्नो धन्दा गरिरहने, हिंसाका लागि वातावरण तयार गरिरहने । धम्काउने, कमिसन माग्ने । ठेक्का पट्टा आदिलाई त्राहीमाम बनाउने । यो जंगली राज त चल्दैन । यो जंगली राजलाई छुट दिन सकिन्न । उहाँहरुले र्निदोष मान्छे मार्‍या क्रान्तिका लागि हो ? कोही झुक्किएर पर्न भयो नियन्त्रणमा लिन खोज्दा खोज्दै भने त्यो चाहिँ दमन ? त्यो हुँदैन । सङ्लाे वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ ? के प्राप्ति भन्नु पर्यो नि । के लडाउन दौड्या ?’

बास्कोटाले दुई तिहाइको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताए। उनले भने, ‘दुई तिहाईको सरकार सिमलको भुवा होइन । यसो खस्ने, कता जाने कता जाने टुंगो नभएको ।’ उनले  संगठित आतंककवादतर्फ उन्मुख विप्लव समूहका क्रियाकलापलाई सरकारले छुट नदिने स्पष्ट पारे।