गोकर्ण र योगेशलाई ओली पक्षको अफर: रोजेको मन्त्रालय लिनुस् - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

गोकर्ण र योगेशलाई ओली पक्षको अफर: रोजेको मन्त्रालय लिनुस्



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समुहका नेताहरूलाई मन्त्री बन्न अफर गरेका छन् । उनले नेपाल समुहका केहि प्रभावशाली नेताहरूलाई मन्त्रीको प्रस्ताव गरेको खुलेको छ ।

खासगरी नेपाल समुहका दोस्रो पुस्ताका केहि नेताहरूलाई प्रधानमन्त्री ओलीले चुनावी सरकारमा सहभागी हुन र आफूलाई सहयोग गर्न लगातार आग्रह गरिरहेका छन् । केहि नेताहरूसँग ओलीले आफूलाई साथ् दिएको खण्डमा नेपाल समूहलाई पनि एमालेमै फर्काउने माहोल आफूले तयार गर्ने बताएका थिए ।

तर उनीहरूले भने निकै ढिलो भैसकेको र नेताहरूमाथि बालुवाटारले लगातार कारबाही गरेकाले पहिला पार्टीको समस्या समाधान गरेपछि मात्र आफूहरू सरकारमा सहभागी हुने बताएका थिए । पछिल्ला दिनहरूमा दोस्रो तहका नेताबीच लगातार भैरहेका वार्ता र छलफलमा पनि न्युनतम माग सम्वोधन नगरी ओलीलाई साथ् दिन नसकिने नेताहरूले बताउने गरेका थिए ।

यस्तैमा ओलीप्रति केहि नरम देखिएका माधव समुहका नेताहरूलाई प्रधानमन्त्री ओलीको तर्फबाट रोजेको मन्त्रालय लिन अफर दिइएको छ । त्यसमा पनि गोकर्ण विष्ट र योगेश भट्टराईलाई लगातार यो प्रस्ताव आएको खुलेको छ । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि बालुवाटार बाटै फोन गरेर त्यस्तो अफर गरिएको खुलेको छ । गोकर्ण विष्ट र योगेश भट्टराई मात्रै तान्न पाएपनि नेपाल समुहको आधा शक्ति घट्ने भन्दै बालुवाटार लागिपरेको बताइएको छ ।

नेताहरूले भने सरकार भन्दा पार्टी प्रधान भएको भन्दै पहिला पार्टीका समस्या समाधान गर्नुपर्ने बताएका छन् । पार्टीलाई सुध्रिढ र एकतावद्ध बनाएपछि पार्टीको समस्या सबै समाधान भयोभने नेतृत्वलाई सहयोग गर्न र सरकारमा जान कुनै समस्या नहुने उनीहरूले बताएको स्रोतले बतायो ।

माधव नेपाल समुहलाई कमजोर बनाउन प्रभावशाली नाताहरूलाई आफ्नो समुहमा तान्ने प्रधानमन्त्री ओली समुहको रणनीति अनुसार यस्तो अफर गर्रिएको बुझिएको छ । केहि नेताहरूले भने मन्त्री मात्र होइन अन्य प्रकारका अफर पनि आउने गरेको बताएका छन् ।

नेपाल समूहमा विभाजन ल्याएर केहीलाई मन्त्री बनाउने गरी बालुवाटारले अझै पनि तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार आइतबार ओलीले अगाडि सारेको ६ बुँदे अपिल त्यही कदमका लागि हो । माधव नेपाल समुहमा पनि यो बारे छलफल भएको छ ।