सरकार लोकतान्त्रिक अभ्यासबाट नभागोस: गोकर्ण विष्ट - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सरकार लोकतान्त्रिक अभ्यासबाट नभागोस: गोकर्ण विष्ट



काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

विष्टले सरकार संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यति बेला सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन छन् । निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक–पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ, आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।”

निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ ।