एमालेमा गोकर्ण सधै ‘पपुलर’
चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा सुरुमा सर्वसम्मत गर्ने भनिएपनि मतदानबाट नेतृत्व चयन गरिएको हो । केपी ओलीको नेतृत्वमा नयाँ टिमले अब एमाले हाँक्ने छ ।
अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याएका छन् । एमालेमा सर्वेसर्वा भनिएका ओलीले सर्वाधिक मत भने ल्याउन सकेनन् । ओलीले भन्दा १० बुँदे सहमति गर्ने नेताहरूले बढी ल्याएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले सर्वाधिक मत पाएका छन् ।
गोकर्ण विष्ट यश अघिको नवौ महाधिवेशनमा पनि सर्वाधिक मत ल्याएर ‘म्यान अफ द इलेक्सन’ भएका थिए । शालिन स्वभावका विष्ट कामले नै चिनिएका नेता हुन । उर्जामन्त्री हुँदा होस् या श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुँदा होस् । दुवैपटक राम्रो काम गरेर बिदा हुँदा निकै चर्चा कमाएका नेता हुन् विष्ट । केहि समय पार्टी अध्यक्ष ओलीसँग अन्तर्संघर्षमा रहेपनि उनी एमालेजनमा लोकप्रिय भएको उनले पाएको मतले नै देखाएको छ ।
नेता विष्टले नवौँ महाधिवेशनमा सर्वाधिक मत पाएको भन्दै उनलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरिएको थियो । उनले त्यतिबेला १ हजार २ सय ७० मत ल्याएका थिए । अहिले भने नेता विष्टले १९७६ मत ल्याएका छन् ।
ओलीको भन्दा शाक्य र विष्टले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएपछि उनीहरूको चर्चा चुलिएको छ । उपाध्यक्षमा निर्वाचित शाक्यले पनि १९७६ मत ल्याएकी छन् ।
साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् ।
साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् ।