मन्त्री गोकर्ण विष्टको अडानले शून्य लागतमा कामदार लैजान मलेसिया तयार - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मन्त्री गोकर्ण विष्टको अडानले शून्य लागतमा कामदार लैजान मलेसिया तयार



काठमाडौँ– करिव १ वर्ष पहिले बन्द भएको मलेसियाको रोजगारी खुला गर्ने तयारी भएको छ। नेपालले भनेअनुसार मलेसियाले स्वास्थ्य संस्थाको सिन्डिकेट खारेज गर्ने बाटो खुल्ला गरिदिएपछि मन्त्री बिष्ट नयाँ सम्झौता अनुसार मलेसियाको रोजगारी खुल्ला गर्ने निर्णयमा पुगेका हुन्।

तर, श्रममन्त्री बिष्टले शून्य लागतमा कामदार पठाउन व्यवसायीसँग सुनिश्चितता मागेका छन्। बुधबार मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार व्यवसायीलाई सिधै दूतावासमार्फत भिसाको प्रक्रिया अगाडि बढाउन र नयाँ श्रम समझदारी अनुसार श्रमिक पठाउन व्यवसायीलाई भनेका छन्।

व्यवसायीले पनि मन्त्री बिष्टसँग सम्झौता कार्यन्वयन गर्न तयार रहेको प्रतिवद्धता जनाएको मन्त्रालय श्रोतले जनाएको छ। छलफलमा सहभागी म्यानपावर व्यवसायीले पनि कलिङ भिसा लागेका कामदारको भिसाका लागि सिधै दूतावास मार्फत नै प्रक्रिया अगाडि बढाउने बताएका छन्।

कलिङ भिसा आएका श्रमिकहरुको भिसाका लागि नेपालस्थित मलेसियन दूतावासमा सिधै पेश गरिनेछ । यसअघि भिएलएनमार्फत भिसाको प्रक्रिया अगाडि बढाइन्थ्यो । तर १० महिना पहिले सबैखालका सिन्डिकेटको अन्त्ये तथा श्रमिक नठगिने गरी मात्रै रोजगारी खुल्ला गर्ने अडान लिएका थिए।

मन्त्री बिष्टको निरन्तरको अडानपछि मलेसिया एकपछि अर्को गर्दै नेपालको मुद्दामा आइपुगेको हो। नेपाली श्रमिकले मलेसिया जाँदा कुनै पनि शुल्क नतिर्ने गरी श्रम समझदारी भएको छ।

सुरुमा समझदारीको विरोध गरेका व्यवसायीहरु पनि हाल कार्यन्वयन गर्न तयार देखिएका छन्। बुधबार उनीहरुले मन्त्री बिष्ट समक्ष यही प्रतिवद्धता गरेर फर्किएका छन्।

बुधबारको छलफलसँगै १० महिना पहिले नै कलिङ भिसा लागेका नेपाली श्रमिक केही दिनमै मलेसिया उड्न पाउने भएका छन्।