गोकर्ण विष्टले एमाले नेताकै म्यानपावर बन्द गर्ने ! - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

गोकर्ण विष्टले एमाले नेताकै म्यानपावर बन्द गर्ने !



श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताए ।

‘सक्रिय म्यानपावरमध्ये आधाभन्दा बढी एमाले नेताले नै चलाएका छन्, तपाईंले यो अवस्थामा कसरी सुधारको काम गर्नुहोला ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री विष्टले बेठीक गर्ने जो भए पनि नछोड्ने बताए ।

‘तपाईंहरु यति कुरा महसुस गर्नुस्, इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस्,’ विष्टले भने,’तर, बेठीक गर्नेलाई छुट दिने छैन । म एक ठाउँमा पनि तपाईंहरुले प्रश्न उठाउने गरी काम गर्ने छैन ।’

विष्टले देशभित्र रोजगार सिर्जना गर्ने गरी सरकारले काम गर्ने भन्दै सुरुवातमा समस्यामा परेको वैदेशिक रोजगार क्षेत्रबाट सुधारको प्रयास थालिएको बताए ।

‘प्रस्तावित नयाँ वैदेशिक रोजागर ऐन मैले हेर्न पाएको छैन । जे–जति तयार तथा लागू भएका र प्रस्तावित ऐन कानुन, नीति नियम र योजना छन् । त्यसको अध्ययन गरेर आवश्यक निर्णय लिन्छु ।’

उनले वैदेशिक रोजगार ऐनलाई देश र कामदारको हित अनुकुलको बनाउन ब्यापक छलफल गरिने बताए ।

‘प्रस्तावित ऐन कति पूर्ण छ मलाई थाहा छैन, विज्ञ र अनुभवी र सरोकारवालासँग बसेर व्यवहारिक बनाउन छलफल गर्छौं,’ विष्ट भन्छन्, ‘दशौं, बिसौं पटक छलफल हुन्छ । ऐन जनता र राष्ट्रकै सम्मान माथि उठ्ने गरी बनाउने हो । कुनै अदृश्य शक्तिको इन्ट्रेस्टमा बन्दैन ।’

अहिले म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा छन् । लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन । अब मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताएका छन् ।