गोदावरीमा बुद्धिचाल हेर्न आउँदै साउदी राजकुमार
अन्नपूर्ण : ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् ।
साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त इलुमझिनोभ पनि गोदावरी आउन लागेका छन्।नगरप्रमुख महर्जनका अनुसार प्रतियोगितामा साउदी राजकुमारलाई प्रमुख अतिथिका रुपमा ल्याउन नगरपालिकाकाले पहल गरेको हो। प्रतियोगितामा रुस, स्लोभाकिया, भारत, पाकिस्तान, माल्दिभ्सलगायत २५ राष्ट्रका एक सय ५० खेलाडी सहभागी हुनेछन्।
गोदावरी नगरपालिकाले नेपाल बुद्धिचाल संघसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो। ‘राजकुमारको उपस्थितिले गोदावरी नगरपालिकाको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास लिएका छौं’, नगरप्रमुख महर्जनले अन्नपूर्णसँग भने, ‘नगरको पर्यटन प्रवद्र्धनका लागि नेपाल बुद्धिचाल संघसँग मिलेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेका हौं।’
नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले गोदावरीमा ६ दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चैत्र २९ बाट सुरु हुने जानकारी दिए। नगर प्रमुख महर्जनका अनुसार प्रतियोगिता सुरुमा अन्यत्रै गर्ने तय भए पनि खेलकुदबाट पर्यटन विकासमा टेवा पु¥याउने लक्ष्यसहित गोदावरीमा आयोजना गर्न लागिएको हो।
‘साउदी राजकुमारको भ्रमणले गोदावरी नगरपालिकाको अन्तर्राष्ट्रिय रुपमा प्रबद्र्धन हुने विश्वास लिएका छौं’, नगर प्रमखु महर्जनले भने।
गोदावरीलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको महर्जनले बताए।
उनले देवीचौरमा भ्युटावर बनाएर ललितपुरको नगरकोट बनाउने लक्ष्य रहेको सुनाए। यस्तै विशंखुनारायण गोदावरी साइकल ट्र्याक निर्माण, हाइकिङलाई व्यवस्थापन र प्याराग्लाइडिङको विकासमा जोड दिने जस्ता कार्ययोजनामा नगरपालिकाले काम गरिरहेको महर्जनले जानकारी दिए।