गिरिजा प्रसाद कोइरालाको ८ औँ स्मृति दिवसमा टीकापुर सरसफाइ - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

गिरिजा प्रसाद कोइरालाको ८ औँ स्मृति दिवसमा टीकापुर सरसफाइ



लोकेन्द्र रावल /टीकापुर :जननेता गिरिजा प्रसाद कोइरालाको ८ औँ स्मृति दिवस बुधवार देशभर मनाइएको छ । नेपाली काँग्रेस र तिनका भातृ संस्थाले देशभर विभिन्न कार्यक्रम गरी कोइरालाको स्मृति दिवस मनाएका हुन् ।

जननेता कोइरालाले नेपालको राजनीति र देशमा पु¥याउनुभएको योगदानको चर्चा पनि भएको छ । यसै क्रममा कैलालीमा विभिन्न कार्यक्रम भएका छन् । कैलाली क्षेत्र नम्बर १ ले कोइरालाको स्मृति दिवसमा टीकापुर बजार सरसफाइ कार्यक्रम गरेको छ ।

सरसफाइ कार्यक्रममा काँग्रेस नेताहरू पूर्व ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व सांसद गंगाबहादुर कुँवर, महासमिति सदस्य फकिरसिंह कडायत लगायतका नेता, नेविसंघका नेता तथा विद्यार्थी सहित सशस्त्र प्रहरी बल उग्रतारा गणका प्रहरीको समेत सहभागिता रहेको थियो । नेपाली काँग्रेसको पार्टी कार्यालय बाट सुरु भएको सरसफाइ अभियान सामुदायिक रेडियो टीकापुर एफएम हुँदै खडक चौकमा गएर समापन भएको थियो ।

समापन पछि पूर्व ऊर्जा राज्य मन्त्री एवं नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य भट्टराईले गिरिजा प्रशादकोइरालाले ८४ वर्षको उमेर सम्म यो राष्ट्रका लागि योगदान दिएको बताउनुभयो । उहाँले कोइराला हरेक कांग्रेसजनका लागि प्रेरणाका स्रोत हुनुहुन्छ भन्नुभयो ।

क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी ले सरसफाइ र शुद्धिकरण का लागि सन्देश दिन सरसफाइ अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले काँग्रेस कार्यकर्तामा ऊर्जा आवास भन्ने चाहना पनि आफूहरूको रहेकोले कार्यक्रम गरेको बताउनु भयो । यसै गरी जोशिपुरमा नेपाल तरुण दलले स्मृति दिवस पारेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सह–संयोजक बीरु चौधरीले नेपाली काँग्रेसका हरेक कार्यकर्ता यो कठिन अवस्थालाई सबै एकजुट भएर सामना गर्नुपर्ने बताउनुभयो । ‘बाहिर काँग्रेसको झन्डा भित्र अरू कुरा गर्ने प्रवृत्ति अन्त गर्नुपर्छ ,’ चौधरीले भन्नुभयो, ‘इमान्दार र बेइमान सबैले छुट्याउन जरुरी छ । ’
नेपाली काँग्रेस कैलालीका पूर्व उपसभापति वीर बहादुर हमालले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । ‘जनताले दिएको जनादेश लाई सिरोधार्य गरेर जनताका सेवा गर्नु पर्छ । हरेक नेता र कार्यकर्ता इमान्दार हुन जरुरी छ । ’हमालले भन्नुभयो ।

तरुण दलका सभापति सन्तोष पौडेलको सभापतित्वमा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा पूर्व सांसद बुद्धिसागर चौधरी र क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले संंगठन का साथ साथै पार्टीमा शुद्धिकरण रहेको बताउनुभयो । कार्यक्रममा साबिक ३ का क्षेत्रीय सभापति जीवन श्रेष्ठ र विजय श्रेष्ठले प्रशिक्ष्ण दिनु भएको थियो ।
कार्यक्रममा स्वागत रोजिना बडायक र सञ्चालन हिक्मत कठरियाले गर्नुभएको थियो ।