विश्वमै दुर्लभ गिद्ध संरक्षणका लागी जुटे स्थानीय - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विश्वमै दुर्लभ गिद्ध संरक्षणका लागी जुटे स्थानीय



अर्घाखाँची । विश्वमै दुर्लभ लोपान्मुख डंगर गिद्धको बासस्थान भएका छत्रदेव गाँउपालीका वार्ड नं. ३ का स्थानिय समुदाय र सरोकारवाला निकायहरु गिद्ध तथा अन्य वन्यजन्तु र जैविक विविधता संरक्षणमा लाग्ने प्रतिवद्धता जनाएका छन ।

आज आयोजित एक दिने गिद्ध संरक्षण सचेतना कार्यक्रममा छत्रदेव गाँउपालीका वार्ड नं. ३ का अध्यक्ष तेज प्रसाद खनालले आफ्ना आगामी कार्यक्रमहरुमा वन तथा दुर्लभ वन्यजन्तु संरक्षण र सचेतना जगाउने कार्यक्रम राख्ने प्रतिवद्धता जनाउनु भयो ।

कायक्रर्ममा बोल्दै डिविजन वन कार्यलय सन्धिखर्ककी सहायक वन अधिकृत शिला पोख्रेलले वनको कार्ययोजनामै गिद्ध संरक्षणका त्रियाकलाप समावेश गरी दिगो संरक्षण र समुदाय शसक्तिकरणमा सहयोग गर्ने बताईन । उपस्थित स्थानिय समुदायका प्रतिनिधीले गिद्धको बासस्थान (गुडँं) भएका ब्लकहरुमा अग्ला र ठुला सल्लाका रुखहरु कटानमा रोक लगाउने, गाँउमा काल गतिले मरेका चौपायाहरुलाई वनको खुला ठाउमा गिद्धको आहारका लागि फ्याक्ने, गिद्धको नियमित अनुगमन गर्ने, समुदाय तथा विद्यालय सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने र गिद्ध संरक्षणका लागि सरकारी तथा गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी अघि बढने प्रतिवद्धता जनाए ।

नेपाल पंछी संरक्षण संघको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संघका जिव विज्ञ देउ रानाले गिद्धको महत्व, संरक्षण अवस्था र स्थानिय समुदायको भुमिका सम्बन्धमा प्रस्तुती राख्नुभएको थियो । विगत १० वर्ष देखी अर्घाखाँचीका गर्ता खहरेका साथै खहरेखोला सामुदायिक वन, गर्लामको सल्लेरी वन र घेरा भिर क्षेत्रमा गिद्धको संरक्षण तथा अनुगमन कार्य निरन्तर गरीदै आएको रानाले बताए ।

नेपालमा पाईने ९ प्रजातिका गिद्ध मध्ये अर्घाखाँची जिल्लामा तराईको रैथाने लोपोन्मुख डंगर गिद्ध, दुर्लभ सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, हाडँफोर गिद्ध, खैरो गिद्ध र राज गिद्ध पाईने नेपाल पंछी संरक्षण संघका अर्का विज्ञ ईश्वरी चौधरीले बताए । नेपालमा दुर्लभ गिद्ध संरक्षणका लागि सामुदायिक वनहरु र स्थानीय समुदायको भुमिका अग्रणि तथा विश्व संरक्षण समुदायका लागि अनुकरणीय रहेको चौधरीले जनाए ।

मरेका जनावरको सिनो खाई वातावरण स्वच्छ र सन्तुलित राख्ने प्रकृतिका कुचिकार गिद्धहरु नब्बेको दशकमा पशु उपचारमा प्रयोग गरीने डाईक्लोफेनेकका कारण लोप हुने अवस्थामा पुगेका हुन । हाल आएर यस ओषधिलाई प्रतिबन्ध लगाई विकल्पमा सुरक्षित ओषधि मेलोक्सीक्यामको उत्पादन तथा प्रयोगमा जोड दिईएको छ । गिद्ध संरक्षणका लागि यस क्षेत्रमा गरीएको यो पहिलो सचेतना कार्यक्रम हो । पहिलो पटक गिद्ध संरक्षणमा सम्बन्धि कार्यक्रममा सहभागी हुन पाउदा स्थानियहरु निकै खुशी हुनुका साथै गिद्ध संरक्षणमा निरन्तर लाग्ने प्रतिवद्धता समेत जनाएका थिए । स्थानिय समाजसेवी धुर्व प्रसाद पाण्डेले गिद्ध संरक्षणमा आफुहरु आगामि दिनमा ठोस कार्यक्रमहरु बनाएर अघि बढने बताए । शिक्षक शिव बहादुर कुमालले विद्यालय र विद्यार्थिमाझ यस प्रकारका संरक्षण सचेतनालाई व्यापक बनाउन आफुले पहल गर्ने बताए ।