गुट्खा बन्द गरौ, चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नुपर्छ :सांसद बस्नेत
काठमाडौं – सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सडक र नदी सफाई गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकोले उपभोगपछि फिर्ता हुने व्यवस्था हुनु पर्ने बताए ।
‘सफाईमा गुट्खाको खोल धेरै पाइयो । त्यसैले गुट्खा बन्द गर्नुपर्छ,’ बस्नेतले भने, ‘चाउचाउको खोल पनि फिर्ता हुने व्यवस्था गर्नुपर्छ ।’
अहिले भएको मुल्यमा एक रुपैया थप गर्ने र खोल फिर्ता गरेपछि एक रुपैया फिर्ता गर्ने व्यवस्था गर्न सके सडक र नदी सफा हुने उनले बताए । भक्तपुरमा दुई महिनादेखि अरनिको राजमार्गको दाया बाया र ५० सातादेखि हनुमन्ते नदी सफाई भइरहेको छ ।
अर्का सांसद यज्ञबहादुर सुनुवारले सर्वोच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाले न्यायलयमा आश र विश्वास पलाएको बताए । भ्रष्टाचार सम्बन्धी छानविन गर्ने निकाय पनि सक्रिय हुनु पर्ने उनले बताए । ‘गणतन्त्रलाई गनाउने तन्त्राट जोगाउन अख्तियारको ध्यान आकृष्ठ गराउन चाहन्छु,’ उनले भने ।
सांसद रामबहादुर बिष्टले बुढीगण्डकीमा भ्रष्टचार भएको आरोप लगाए । ‘ प्रतिष्पर्धा नगरी चाइनिज गेजुवा कम्पनिलाई दिएको छ । यसमा कति भष्टचार भयो होला ?’ उनले भने, ‘छानबिन होस् ।’
सांसद रेनुका गुरुङले कारागारमा रहेका बन्दीलाई पर्याप्त भौतिक पूर्वाधार नभएको बताइन् । बन्दीहरुलाई सीप मुलक तालिम दिनु पर्ने उनले बताइन् ।