ओली, प्रचण्ड र देउवा मिलेर ९ अर्ब घोटाला गरेको डा. भट्टराईको खुलासा - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

ओली, प्रचण्ड र देउवा मिलेर ९ अर्ब घोटाला गरेको डा. भट्टराईको खुलासा



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गम्भीर आरोप लगाएका छन् ।

उनले यी तिन जना नेता मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने।

भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए। पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड (दाहाल) बिलौना गर्नुहुन्छ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेको बताए । ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो,’ उनले भने।

भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि लगाए। उनी जिल्लाको विकास निर्माणबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका थिए।