घोडाघोडीमा विकासे आयोजनाको अनुगमन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडीमा विकासे आयोजनाको अनुगमन



विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाका विभिन्न वडाहरुमा भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ ।

सोमबार घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा वडा नं ३ र ५ मा भएका विकासका आयोजनाहरु अनुगमन गरिएको हो ।

घोडाघोडी नगरपालिका- ३ जुरपानीमा चौकिदारको घरदेखी प्रकाश चौधरीको घर हुँदै भोजपुर चोक सम्म माटो भटानी तथा ग्राइभेल सडक आयोजनाको अनुगमन गरिएको छ । सडक निर्माण भएसङ्गै ओहोर दोहोर गर्न सजिलो हुने भएपनी कुनै ठाउँमा गुणस्तरहिन ग्राइभेल प्रयोग गरिएको एक स्थानीयले बताए । उनले भने , बर्खा याममा पानी जमेर समस्या हुन्थ्यो । सडक त बन्यो तर , कुनै ठाउँमा बढी बालुवा र माटो मिसिएको ग्राइभेल हालेको छ ।’

अनुगमनका क्रममा सडकमा ग्राइभेल कम भएको र रोलर लाउदा कुनै ठाउँमा खाल्डा र उच्चा रहेको हुँदा बर्खामा पानी जम्ने समस्या हुने भएकोले ग्राइभेल हाली राम्रोसंग रोलर लगाउन निर्देशन दिएको घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीले बताए । १५ मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको उक्त ग्राइभेल सडकका लागि घोडाघोडी नगरपालिकाले १० लाख तथा उपभोक्ता समितीद्बारा २ लाख ५० हजार गरि कुल १२ लाख ५० हजारमा निर्माण भइरहेको उपभोक्ता समितिका अध्यक्ष छोटेलाल डगौरा थारुले जानकारी दिए । चौधरीले माटो पटानी गर्दा पानी आएको हुनाले यस्तो समस्या आएको बताए ।

घोडाघोडी नगरपालिका वडा नं ३ कै नारायणपुरमा ५ लाखको लागतमा निर्माण गरिएको कल्भर्ट तथा ४ लाख ७० हजारमा ४ सय मिटर लम्बाई र ८ मिटर चौडाइ भएको मंगल प्रसाद चौधरीको घरदेखी निलकण्ठ आचार्यको घरसम्म माटो पटानी तथा ग्राइभेल सडकको अनुगमन पनि गरिएको छ । अनुगमनका क्रममा कल्भर्ट निर्माण ठिक भएपनि सडकमा माटो कम हालिएकोले माथिबाट ग्राइभेल हाल्न निर्देशन दिएको इन्जिनियर जोशिले बताए । यता ४ सय मिटर ग्राइभेल सडक भने स्टिमेट अनुसार भएको जोशीले बताए ।

त्यस्तै घोडाघोडी नगरपालिका वडा नं ५ सरैयामा सिर्जना टोल अधुरो सडक ग्राइभेल सडकमा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा स्टिमेट अनुसार काम भएको पाइएको इन्जिनियर अशोक जोशिले बताए । उक्त सडक नगरपालिकाको ९ लाख तथा २ लाख २५ हजार जनश्रमदान गरि कुल ११ लाख २५ हजारमा १ किलोमीटर लम्बाई र ६.८ मिटर चौडाइको बनाइएको हो ।

यस्तै घोडाघोडी नगरपालिका -५ सरैयाकै कृष्ण बिष्टको घर नजिक स्लेप पक्की कल्भर्ट निर्माण , बनखेत महराको घरदेखी नजिकको अधुरो सडक निर्माण तथा जनप्रीय आधारभुत विद्यालय जाने बाटोको निर्माण पनि स्टिमेट अनुसार भएको घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशिले बताए ।

अनुगमनमा घोडाघोडी नगरपालिकाका सब ओभरसियर विष्णु न्यौपाने, उपभोक्ता समितिको अध्यक्ष , स्थानिय बासिन्दा तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।