घोडाघोडीमा आयोजनाको अनुगमन : पैसा कटौतीदेखि फिलिङ गर्न निर्देशन
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा भएका विभिन्न वडाहरुमा विकासे योजनाहरुको बिहीबार अनुगमन गरिएको छ ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा वडा नं १० , वडा नं ७ र वडा नं ३ मा भएका विकासका आयोजनाहरु अनुगमन गरिएको हो ।
घोडाघोडी नगरपालिका वडा नं १० मा पर्ने पहलमानपुरदेखि दक्षिण तर्फ रहेको ५०० मिटर कालोपत्रे सडकको अनुगमनका क्रममा स्टिमेट अनुसार काम भएको पाइएको घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीले बताए ।
सडक कालोपत्रे भएसङ्गै स्थानीयहरु खुशी भएका छ्न ।बर्खाको समयमा कम्मरसम्म पानी आउने बाटोमा ठेकदारले चित्त बुझ्दो सडक पिच गरेको हुँदा आफुहरु खुशी रहेको स्थानीय लक्ष्मी भट्टराईले बताइन् । उनले भनिन , ‘सडक त राम्रो बन्यो , अब नालिलाई पनि ब्यवस्थित गरियो भने अझै राम्रो हुने थियो ।’ जे.बि.निमार्ण सेवा पहलमानपुरले ४१ लाखमा १० मिटर चौडाइ सडक पिच गर्ने ठेक्का लिएको थियो ।
त्यस्तै घोडाघोडी नगरपालिका वडा नं ७ करैचामा रहेको करैचा उत्तर टोलको सामुदायिक वनमा तार घेरबार आयोजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा स्टिमेट अनुसार १२५ किलो तार कम भएको इन्जिनियर अशोक जोशिले बताए । उनले भने , ‘ स्टिमेट अनुसार तार कम भएको छ , जति कम छ त्यसै अनुसारको रकम कटौती गरि भुक्तानी गरिन्छ ।’
यस्तै घोडाघोडी नगरपालिका वडा नं ३ बगुलियामा पनि खडक चौधरीको घरदेखि बघुलिया पशला चोक तथा कठरिया टोलदेखी नदिसम्मको १ हजार ४ सय ५५ मिटर लम्बाई र ५.५ मिटर चौडाइ भएको ग्राइभेल सडकको अनुगमन गरिएको छ । आयोजना निर्माण गर्दा नगरपालिकाबाट १० लाख तथा २ लाख ५२ हजार ११२ को जन श्रम दान गरि कुल १२ लाख ५२ हजार ११२ मा निर्माण सम्पन्न गरिएको हो । उक्त ग्राइभेल बाटोको कुनै ठाउँँमा ग्राइभेल गरि फिलिङ गर्नुपर्ने हुँदा आफुले त्यो काम गर्नको लागि निर्देशन दिएको घोनपाका इन्जिनियर जोशीले बताए ।
अनुगमनमा घोडाघोडी नगरपालिकाका सब ओभरसियर विष्णु न्यौपाने, उपभोक्ता समितिका अध्यक्ष ,स्थानिय बासिन्दा तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।