घोडाघोडीको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, जनप्रतिनिधिद्वारा नगरसभा बहिस्कार - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

घोडाघोडीको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, जनप्रतिनिधिद्वारा नगरसभा बहिस्कार



‘८१ करोड ४१ लाखको बजेट प्रस्तुत’

विशाल पाण्डेय/कैलाली ।
घोडाघोडी नगरपालिकाले ११ औं नगरसभा तथा आगामी आर्थिक बर्ष २०७७/ ०७८ को नीति तथा कार्यक्रम सहित ८१ करोड ४१ लाखको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष २०७७/०७८ का लागी ८१ करोड ४१ लाख २३ हजार ५ सय १७ रुपैयाँ बराबरको बजेट नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बुधबार प्रस्तुत गरेका हुन् ।

घोडाघोडी नगरपालिकामा ६ वटा शिर्षकमा बजेट विवरण गरिएको छ जस अन्तरगत पुर्वधार बिकासमा सबै भन्दा बढी ५९.७९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने सबै भन्दा कम कोषहरु शिर्षकमा ०.२१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट विवरण गर्दा आर्थिक विकासमा २ करोड १० लाख (४.५१%), सामाजिक विकासमा ५ करोड ७६ लाख(१२.४%), पुर्वाधार विकासमा २७ करोड ८६ लाख २३ हजार (५९.७९%), वन वातावरण तथा विपत व्यवस्थापन विकासमा २७ लाख (०.५८%) , कोषहरु १० लाख (०.२१%) र चालू १० करोड ५१ लाख (२२.५५%) बजेट सहितको नीति तथा कार्यक्रम नगरपालिकाले प्रस्तुत गरेको छ ।

घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय अनुमानित ४ करोड रुपैयाँ रहेको छ । यसैगरी, राजस्व बाँडफाँड १४ करोड ६३ लाख ८३ हजार रुपैयाँ , वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट १८ करोड ५३ लाख र प्रदेश सरकारबाट ८१ लाख ८९ हजार गरि १९ करोड ३४ लाख ८९ हजार रुपैयाँ , विशेष अनुदान १ करोड ५० लाख , समपुरक अनुदान १ करोड ३६ लाख ,शसर्त अनुदान ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत बर्षको नगद मौज्दात ८ करोड ६१ लाख ५१ हजार रुपैयाँ गरि कुल ८१ करोड ४१ लाख २३ हजार रुपैयाँको रकम विनियोजन गरिएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य अमर बहादुर साउद प्रमुख अथिती रहेका थिए । नगर सभामा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले कार्यक्रम संचालन गरेका थिए ।

जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

घोडाघोडी नगरपालिकाले ११ औं नगरसभा तथा आगामी आर्थिक बर्ष २०७७/ ०७८ को नीति तथा कार्यक्रम सहित ८१ करोड ४१ लाखको बजेट बुधबार सार्वजनिक गरेको छ ।

आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरिएपनी यस बर्ष वडामा थोरै रकम बिनियोजन गरिएको भन्दै कतिपय जनप्रतिनिधिहरुले नगर सभा बहिष्कार गरेका छन् ।
नगर सभामा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका हुन् । बजेटमा नगर प्रमुखले एकलौटी गर्न खोजेको भन्दै वडा नं २, ३, ७, ८,११ र १२ का वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगर सभा बहिस्कार गरेको एक वडा अध्यक्षले हिमाल पोस्टलाई बताए ।

नगर प्रमुखले एकलौटी रुपले कार्यकर्तामुखी बजेट ल्याएकाले नगर सभा बहिष्कार गरेको घोडाघोडी नगरपालिका वडा नं २ का अध्यक्ष हरिराज बिष्टले बताए । उनले भने, ‘जनताको माग अनुसार नभई कार्यकर्तामुखी बजेट ल्याइएको छ । वडाका जनताले राखेका मागहरु लाई सम्बोधन गर्न नसकिने हुँदा वडाका कुनै पनि कामहरु गर्दिन अब नगर प्रमुखले नै आएर वडामा काम गर्छन् ।’

यस्तै वडा नं ११ का अध्यक्ष दानसिंह जोगिले लालभोझी सडक निर्माणको लागि पनि रकम नपुग्ने गरि २८ लाख मात्र बजेट विनियोजन गरिएको हुँदा आफू र आफ्ना वडाका सदस्य नगर सभामा नगएको बताए । उनले नगर प्रमुखले अन्य वडामा पिच बाटो बनाएपनी हालसम्म लालभोझी सडक खण्ड नबनाएको दुखेसो पोखे । उनले भने, अरु वडामा विकास निर्माणले गति लिएको छ । हाम्रो वडामा सधै बजेट कम दिइन्छ ।’ अन्य संरचनाहरु त बनेका छन् , हाम्रो माग भनेको लालभोझी सडक खण्ड निर्माणको हो ।’

त्यस्तै नगर प्रमुखले केन्द्रीकृत बजेट ल्याएको वडा नं ३ का अध्यक्ष कमल थारुले बताए । उनले भने, ‘एकल निर्णयले ल्याएको बजेटलाइ हामी मान्दैनौ । त्यसैले नगर सभा बहिस्कार गरेका छौं ।’
नगरपालिकाले यस बर्ष वडागत बजेट एक मुष्ट रूपमा ३ करोड ४१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ ।