कानुनमन्त्रीले नै सांसदहरूलाई बाहिर घिसारेर निकाल्न भनेपछि…
काठमाडौं । २०७१ माघ ५ गते तत्कालीन एकीकृत माओवादीका सांसदहरूले तत्कालीन संविधानसभा बैठक तोडफोड गरे । संसद् भवनभित्रका कुर्सी र माइक भाँचे । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जोगाउन खोज्दा तीन मर्यादापालक घाइते भए ।
यही प्रकृतिको तोडफोड सोमबार प्रस्तावित लुम्बिनी प्रदेशमा भएको छ । दाङ राजधानी बनाउने विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदहरूले सभाकक्ष तोडफोड गरी माइक र कुर्सी भाँचिदिए ।
दाङलाई प्रदेशको स्थायी मुकाम बनाउने प्रस्ताव अघि बढाइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्रै होइन मन्त्री नै आक्रोशित देखिए ।
प्रदेश राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव अघि बढाउन रोस्टम पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले मर्यादापालकलाई हप्काइदप्काइ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदलाई गलहत्याएर बाहिर निकाल्न आदेश दिएका थिए ।
मर्यादा पालकका लुगामा समातेर तान्दै उनले भनेका थिए, “यिनीहरूलाई बाहिर घिसारेर निकालिहाल्नूस्, निकालिहाल्नूस् ।”