घोडाघोडीमा सम्पन्न योजनाहरु ‘गुणस्तरहीन’

विशाल पाण्डेय/कैलाली –
घोडाघोडी नगरपालिकामा सम्पन्न भएका आयोजनाहरु पारदर्शिता तथा गुणस्तरीय नभएको बताइएको छ । नेपाली काङ्ग्रेस घोडाघोडी नगर कार्य समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि घोडाघोडीका योजनाहरु पारदर्शिता,गुणस्तर मापदण्ड तथा दिगोपन नभएको अनुगमन प्रतिवेदनमा सार्वजनिक गरेका हुन् ।
नगरपालिकाको १२ वटै वडाहरुमा गठित अनुगमन समितिले आर्थिक वर्ष २०७६ / ०७७ मा भए गरेका योजनाहरुको अनुगमन पश्चात् नेपाली काँग्रेसले विकासका योजनाहरु व्यक्तिगत पहुँच तथा राजनैतिक पहँचको आधारमा विरण गरिएको, संचालित आयोजनाहरु मध्ये धेरै जसोमा विधि र प्रक्रिया विपरित संचालन गरिएको , नागरिक वडापत्रहरु सबै योजनाहरुमा नटाँसिएकोले बजेट हिनामिना गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
उपभोक्ता समितिहरु गठन गर्दा आफु नजिकका व्यक्तिहरु समितिमा राखिएको र वास्तविक उपभोक्तालाई समाबेश नगरी गुपचुप गठन गरिएको साथै वडाले पनि व्यवस्ता गरी सिफारिस गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । साथै प्रदेश तथा संघिय सरकार एवं सांसद विकास कोषका रकम आफु अनुकुलका व्यक्ति र स्थानमा वितरण गरि कमिसन लिने गरेको, योजनहरुमा समयमा सम्पन्न गर्न नसक्दा रकम फ्रिज भएको नेपाली काँग्रेसले प्रतिवेदन मार्फत जानकारी दिएको छ ।

काङ्ग्रेसले नगरपालिकाले बनाएको क्वारेन्टाइनको राम्रो व्यवस्थापन नभएकाले नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार सेवा सुबिधा नपाएको, सबै क्वारेन्टाइनमा खाना, बाँस, खानेपानि तथा शौचालयको व्यवस्था नगरिएको हुँदा परिमाण स्वरुप क्वारेन्टिनमा बसेकाहरुले आन्दोलन नै गर्नु परेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
पीसिआर टेष्टको रिपोर्ट पोजेटिभ देखिएकालाई आईसोलेसनमा नराखि घर पठाईएको कारण समाजमा त्रासपुर्ण वातावरण सृजना भएको नेपाली काँग्रेस घोडाघोडी नगर कार्य समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

