प्रचण्डले ओलीलाई भने: जति ढिला गर्नुहुन्छ त्यति नै घाटा लाग्छ
काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा शनिबार छलफल भएको छ । बैठक चल्दै गर्दा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।
प्रधानमन्त्री निर्वाचित भएपछी पहिलो पटक प्रचण्डलाई भेटन ओली खुमलटार पुगेका थिए । शनिबार ११ बजे खुमलटार पुगेका ओली करिव डेढ घण्टा बसेर निस्किएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, आजको छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई तर्साउन खोजेको भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए । पछिल्लो समय प्रचण्ड-नेपाल समुहले आफ्ना पक्षका देशभरका नेताहरूलाई काठमाडौं बोलाएर भेला गर्न थालेकोप्रति ओलीको संकेत थियो ।
छलफलबाट कुनै ठोस सहमति हुन नसकेको बताइएको छ । प्रधानमन्त्री ओली आफै खुमलटार गएपछि जति अपेक्षा र आशा गरिएको थियो त्यो अनुसार बैठकमा केहि कुरा पनि नभएको स्रोतको दाबी छ ।
भेटका क्रममा प्रचण्डले अध्यादेश फिर्ता गर्न धेरै समय लगाएकोमा असन्तुष्टि जनाएका थिए । उनले अध्यादेश फिर्ता गर्न जति धेरै समय लगायो त्यसको धेरै असर ओलीलाई नै पर्ने समेत बताएको स्रोतले बतायो ।
लचकता देखाउँदै प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्रीले आफूविरुद्धको बैठकमा राखेको प्रस्ताव फिर्ता लिन आग्रह गरेको समेत बुझिएको छ । उनको आग्रहलाई प्रचण्डले ठाडै अस्विकार गरेको बताइएको छ । प्रचण्डले त्यो प्रस्ताव पार्टीको दस्तावेज भएकाले फिर्ता हुन नसक्ने समेत बताएका थिए ।