लकडाउनको घरभाडा लिने घरबेटीलाई विप्लवले कारबाही गर्ने - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

लकडाउनको घरभाडा लिने घरबेटीलाई विप्लवले कारबाही गर्ने



धनगढी– सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा लिने घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विप्लव समूहका सेती–महाकाली व्यूरोले एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरभाडा नलिन घरधनीलाई आग्रहसंगै लकडाउन अवधीभरको व्याज मिनाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ।

विप्लव नेतृत्वको नेकपाले आफूले गरेको आग्रहको वेवास्ता गरी लकडाउनको बेलाको घरभाडा लिने घरधनीलाई कारवाहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ।

पार्टीका नेता निर्माणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारण जनताको जीवन गुजारा गर्न मुस्किल भइरहेको बेला शहर बजारका घरधनीहरुले घर भाडा अशुल गर्ने नाममा बाहालमा बस्ने हरुलाई निकै दुःख दिइरहेको र यसमा राज्यले पनि ध्यान नदेखाएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। केही मानवीय भावना भएका घर मालिक बाहेक सबै पूँजीवादी चेतनाले लैश भएका व्यक्तिहरुले घर बाहालको नाममा अपराधिक व्यवहार देखाउँदै आएकोले त्यसलाई तत्काल रोक्न र राज्यको तर्फबाट समन्वय गर्न सुझाव पेश गर्न चाहान्छौँ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘यदी सामान्य मानवीय भावनालाई समेत वेवास्ता गरी घरबहालको नाममा दुःख दिने काम कसैले गरेको पाइएमा पार्टीको तर्फबाट जनकारवाही गर्ने जानकारी समेत गराउँदछौं।’

साथै विप्लवले वैज्ञानिक वनको नाममा भइरहेको वन फडानी तत्काल रोक्न, विद्यालयहरुले सुरु गरेको धनाड्यका छोराछोरीलाई मात्रै फाइदा पुग्ने अनलाइन माध्यमबाट पठनपाठन रोक्न र सुदूरपश्चिम प्रदेशमा असारे विकासको नाममा बजेट सक्ने र भ्रष्टाचार गर्ने कार्य तत्काल बन्द गर्न समेत चेतावनी दिएको छ।