काठमाडौंमा रोकिएकालाई घर जान दिने पुन: तयारी हुँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

काठमाडौंमा रोकिएकालाई घर जान दिने पुन: तयारी हुँदै



काठमाडौं– काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जान चाहनेको लागि पठाउने गरी सरकारले पुन: तयारी गरिरहेको छ।

लामो लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेकाहरुलाई एकपटकका लागि बाहिर जान दिने तयारी पहिले देखिनै भैरहेको थियो । तर प-याप्त छलफल र समन्वय नगरी निर्णय बाहिर आएपछि पछिल्लो यो पटक बिबादित बनेको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसअघि हिजो (शुक्रबार) र आज दुई दिन उपत्यकामा रोकिएकाहरुलाई गाउँ जान दिने निर्णय गरेको थियो । तर, समिति संयोजक उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका समिति संयोजक ईश्वर पोखरेलले सम्वद्ध पक्षसँग समन्वय नै नगरेका कारण उक्त निर्णय कार्यान्वयन गर्न जटिलता देखिएपछि सरकार त्यसबाट पछि हटेको थियो ।

अब भने सरकारले त्यस्तो अवस्थामा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउनका लागि तयारी गरिरहेको स्रोतले बताएको छ ।

यसाघी भने प्रदेश र स्थानीय तहहरूले समन्वय नगरेको र आफूहरुसँग समन्वय नगरी समितिले गरेको निर्णय कार्यान्वयन नगर्ने र आफ्नो ठाउँमा बाहिरबाट मानिस आउन नदिने चेतावनी दिएपछि सरकार पछि हटेको थियो ।

तर, आवश्यक सुरक्षा प्रबन्ध गरी मानिसहरुलाई उपत्यका बाहिर जान दिएको भए राम्रो हुन्थ्यो भन्ने विषयमा मन्त्रिपरिषदकै अधिकांश सदस्य पुगेका छन् ।

यसअघि जस्तो हचुवाका भरमा नभई प्रदेश र स्थानीय सरकार, प्रहरी, यातायात व्यवसायी, विज्ञ चिकित्सकसहित सम्वद्ध पक्षसँगको समन्वयमा फेरि एकपटकका लागि काठमाडौं उपत्यका छाड्न दिने कि भन्नेबारे छलफल भएको छ ।

भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिएको र यो क्रम बढे आपूर्ति ठप्प हुन गई खाद्यान्न संकट देखिन सक्ने सम्भावना रहेकाले उपत्यकामा रहेका अड्किएकाहरुलाई गाउँ जान दिँदा खाद्य संकट कम हुने पनि समितिको आंकलन छ ।