आइसोलेशनबाट घर फर्केको ८ दिनपछि २० जनामा कोरोना पुष्टि
विशाल पाण्डेय/कैलाली – कैलालीको घोडाघोडी नगरपालिकामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
घोडाघोडी नगरपालिकाले आईसोलेशनमा रहेका ७० जनाको स्वाव संकलन गरी पठाएकोमा २० जनाको पिसिआर रिर्पोट पोजिटिभ आएको घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।
नगरको वडा नं ३ का ५ जना, वडा नं ५ का ४ जना, वडा नं ६ का ३ जना ,वडा नं ८ मा २ जना र वडा नं ९ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिए । यो संगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । यस अघि नै घोडाघोडी नगरपालिकाका-११ का ३२ वर्षिय पुरुष निको भएर घर फर्किएका थिए ।
घर फर्किएको ८ दिन पछि कोरोना पुष्टि
घोडाघोडी नगरपालिकाले निर्माण गरेको आईसोलेशनबाट घर फर्किएको ८ दिनपछि कोरोना पुष्टि भएको छ । जेठ २९ गते ७० जनाको स्वाब संकलन गरि घर पठाइएको उनिहरुको असार ४ गते कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका उनीहरु जेठ २८ गते आईसोलेशनमा प्लाष्टिकको चामल प्रयोग गरेको, पिसिआर चेक नगरेको भन्दै पुर्वपश्चिम् राजमार्गमा विरोध प्रदर्शन गरि राजमार्ग अवरुद्ध गरेका थिए ।
उनीहरुको स्वाब संकलन गरि रिपोर्ट नआउदै घर पठाइएको रिपोर्टमा कोराना पुष्टि भएपनि उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ शाखा प्रमुख रावतले जानकारी दिए ।
करिब १ महिना हुन लाग्दा पनि उनिहरुमा केही पनि लक्षण नदेखिएको हुँदा आत्तिहाल्नु पर्ने अवस्था नरहेको घोडाघोडी नगरपालिकाका नगर ममता प्रसाद चौधरीले जानकारी दिए । उनले स्वास्थ मन्त्रालयको नियमानुसार १४ दिन कटेकाहरुलाइ एक हप्ता अलग्गै बस्ने सर्तमा स्वाब संकलन गरि घर पठाइएको बताए ।
सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताउदै नगर प्रमुख चौधरीले कोरोना पुष्टि भएको मानिसको घर परिवारको पनि आरडीटी परिक्षण गरिने र आरडिटीमा पोजेटिभ देखिएपछी पिसिआर गरिने बताए ।
प्लाष्टिकको चामल नरहेको पुष्टि
घोडाघोडि नगरपालिकाले आइसोलेशनमा प्लाष्टिकको चामल प्रयोग नगरेको पुष्टि भएको छ । केहिदिन अघि आईसोलेशनमा प्लाष्टिकको चामल प्रयोग गरेको भन्दै आईसोलेशनमा बसेका मानिसहरुले विरोध प्रदर्शन गरेपछि नगरपालिकाले खाध्य तथा गुण नियन्त्रण कार्यलयमा चामल गुणस्तरीय हो वा होइन भन्ने कुराको प्रमाणित गर्न पठाएको थियो ।
खाध्य तथा गुण नियन्त्रण कार्यलयमा चामल गुणस्तरीय रहेको प्रमाणित भइसकेको भन्दै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा आइसोलेशनमा प्लाष्टिकको चामल प्रयोग गरेको भन्ने आरोपप्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा नगरपालिकाले प्लाष्टिकको चामल हो वा होइन भन्ने कुरा पुष्टि नै नभइ अनावश्यक कुरामा जनतामा भ्रम फैलाउने कार्यको नगरपालिकले खेद ब्यक्त गरेको छ ।