खगेन्द्र संग्रौलालाई घनश्याम भुसालले पठाए पत्र
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालले लेखक खगेन्द्र संग्रौलालाई पत्र पठाएका छन् । संग्रौलाले घनश्याम लगायतका माधव नेपाल समुहका नेताहरूलाई ओलीको दास भन्दै सम्वोधन गरेपछि उनले पत्र लेखेका हुन् ।
बिहीबार एउटा लेख लेख्दै संग्रौलाले ‘दासहरूलाई दास बन्न नपाउँदा ठूलो पीडा हुन्छ। जस्तो कि एमालेको दोस्रो पुस्ता।’ जस्ता आक्रामक शब्द लेखेपछि घनश्यामले पत्र नै लेखेर संग्रौलालाई जवाफ फर्काएका छन् ।
लेखक संग्रौलाले एमाले एकताका लागि प्रयासरत सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलाई लक्षित गर्दै लेखेका छन्, ‘प्रभुको कठोर चित्त पगाल्ने हेतुलेहजुरका चरणमा बफादारीको प्रमाणपत्र अर्पण गर्न र मौसुफतुल्य प्रभुको छत्रछायाँमा मुन्टो लुकाउने दुलो प्राप्त गर्न रातोदिन सास नबिसाई पापड बेलिरहेका छन्।’
त्यसैको प्रत्युत्तरमा नेता भुसालले पत्र लेखेका छन् । भुसालले संग्रौलाई जवाफ दिँदै लेखेका छन्, ‘लोक र शास्त्रको अन्तरक्रियालाई राम्ररी बुझ्न नसक्दा हामी या त कोरा शास्त्रवादी हुन्छौं या भद्दा लोकवादी हुन्छौं, हाम्रो भूराजनीति, सामाजिक–आर्थिक अवस्था, त्यसमाथि बनेको राजनीति, राजनीतिका पात्रहरू र फेरि ती पात्रहरूले हाम्रो भूराजनीति र सामाजिक–आर्थिक अवस्थासँग गर्ने अन्तरक्रियामा हेर्ने, अर्थात् द्वन्द्ववादी हुने, अझै स्पष्ट रूपमा भन्ने हो भने भद्दा लोकवादी नहुने मेरो प्रयत्न हो।’
नेता भुसालले लेखक संग्रौलालाई लेखेको पत्र
खगेन दाई,
सधैंझैं संग्रामी अभिवादन !
लोकवाद र शास्त्रवादमा कुन श्रेष्ठ हो भन्ने हजारौं वर्षको विवादलाई द्वन्द्वात्मक भौतिकवादले के भनेर समाधान गरिदियो भने सिद्धान्त व्यवहारबाट उत्पन्न हुन्छ तर त्यही सिद्धान्तले नयाँ चरणमा व्यवहारलार्ई मार्गदर्शन गर्छ। लोक र शास्त्रको अन्तरक्रियालाई राम्ररी बुझ्न नसक्दा हामी या त कोरा शास्त्रवादी हुन्छौं या भद्दा लोकवादी हुन्छौं। हाम्रो भूराजनीति, सामाजिक–आर्थिक अवस्था, त्यसमाथि बनेको राजनीति, राजनीतिका पात्रहरू र फेरि ती पात्रहरूले हाम्रो भूराजनीति र सामाजिक–आर्थिक अवस्थासँग गर्ने अन्तरक्रियामा हेर्ने, अर्थात् द्वन्द्ववादी हुने, अझै स्पष्ट रूपमा भन्ने हो भने भद्दा लोकवादी नहुने मेरो प्रयत्न हो।
नीतिशास्त्रका तमाम विषयलाई मैले यही सन्दर्भमा बुझ्ने प्रयास गरेको छु। यस व्यापकतामा आलोचना गरिदिनुभयो भने मेरा लागि वा मजस्ता लोकलाई बदल्न भनेर हिँडेकाहरूका लागि अर्थपूर्ण हुनेछ।
यस कोरोनाको महामारीबाट सुरक्षित रहनुहुनेछ।
तपाईंको भाइ,
घनश्याम भुसाल