घनश्यामले प्रधानमन्त्रीलाई भने- ‘तपाईंलाई सल्लाह दिने गलत छन्, म सँग प्रमाण छ’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ एकाएक मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई निवासमा बोलाए । सबैलाई राखेर ओलीले भने तपाईंहरू कसको पक्षमा हो क्लियर गर्नुस ।
आकस्मिक रुपमा बोलाएको परामर्श बैठकमा केहि मन्त्रीहरुले ‘अहिलेको परिस्थितिमा बाहिरी र बनावटी कुराहरु सुनेर कुनै कदम नचाल्न’ आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीको अआक्रिश सुनुसकेपछि सहभागीमध्ये कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई सल्लाह दिनेहरू र कुरा सुनाउनेहरूले प्रधानमन्त्री ओलीलाई प्रयोग गरेको बताएका थिए ।
भुसालले भनेका थिए, अहिले केहि स्वार्थ समूहले परिस्थितिलाई थप उत्तेजित बनाएर आफ्नो स्वार्थ पूरा गर्न लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनले अहिले नेकपाको परिस्थितिलाई प्रथम विश्वयुद्धका बेला सक्रिय एक व्यापारिक स्वार्थ समूहसँग तुलना गर्दै प्रधानमन्त्रीलाई बुझाउन खोजे।
‘प्रथम विश्वयुद्धताका एउटा व्यापारिक स्वार्थ समूह थियो, जसले पोष्टर छाप्थ्यो र युद्धका दुवै पक्षलाई बेच्थ्यो,’ मन्त्री भुसालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘फ्रेन्च हत्यारा हुन् भन्ने पोस्टर पनि त्यहि समूहले छाप्थ्यो, जर्मन हत्यारा हुन् भन्ने पोष्टर पनि उसैले छापेर बेच्थ्यो।’
अहिलेको नेकपाको विवादमा पनि स्वार्थ समूहले ‘फेब्रिकेटेड’ (बनावटी) कुराहरु ल्याएर भाँजो हालिरहेको उनले बताए।
स्वार्थ समूहका बनावटी कुराबारे आफूसँग प्रमाण भएको दाबी मन्त्री भुसालले प्रधानमन्त्रीलाई जानकारी दिए। त्यस्ता समूहको प्रभावमा नपरी विवादलाई आपसी छलफलबाट सुल्झाउन सकिने उनको भनाइ थियो।