माधवको साथ छोडेपछि एमालेमा निरीह बने घनश्याम
काठमाडौं- पहिले अध्यक्षमा लड्ने बताएका नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चितवनमा आजबाट शुरू भएको दशौँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।
नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भुसाल उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । उनी एमालेमा माधव नेपालको समूहका वैचारिक नेताको रूपमा चिनिएका थिए । पार्टी विभाजन हुँदा एमालेमै बसेपछि भुसाल निरीह बन्दै गएका छन् ।
अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका अन्य नेताहरूले सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने बताइरहँदा भुसालले भने उपाध्यक्षमा लड्ने तयारी गरेका छन् ।
पार्टी विभाजनताका माधवकुमार नेपालको साथ छोडेका भुसालले ओलीलाई अध्यक्षमै टक्कर दिने ठानिएको थियो । भुसालका अर्का सहकर्मी नेता भीम रावलले भने अध्यक्षमै उम्मेद्वारी दिएका छन् ।
भुसालले यसअघि असोजमा भएको विधान महाधिवेशनमा दर्ता गर्न खोजेको फरकमत ओलीले दर्ता गर्न दिएका थिएनन् । त्यसयता भुसाल र ओलीबीच कटु सम्बन्ध रहँदै आएको छ ।
ओलीले चाहेकै नेतृत्व छानिने अवस्था देख्दा देख्दै ‘निरिह’ बनेका भुसाल ५ मध्येको एक उपाध्यक्ष बन्ने तयारी गरेका हुन् । महाधिवेशन आयोजक समितिका अनुसार भोलि बन्द सत्र हुनेछ भने निर्वाचन १२ गते हुनेछ ।