घनश्याम भुसालले भने: नेकपामा माथिल्लो तहका नेता ठिक छैनन् ! - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

घनश्याम भुसालले भने: नेकपामा माथिल्लो तहका नेता ठिक छैनन् !



काठमाडौं – वाम बुद्धिजिवीहरुले राजनीतिक नेतृत्व वर्ग ‘दलाल पुँजी’को प्रभावबाट टाढा रहे समाजवादी क्रान्ति संभव हुने विश्लेष्ण गरेका छन् ।

आइतबार वाम चिन्तक समीर अमिनको सम्झनामा आयोजित कार्यक्रममा वाम बुद्धिजिवी तथा विश्लेष्कहरुले दलाल पुँजीवादसँग राजनीतिक नेतृत्वले हिमचिम बढाउँदा कम्युनिष्ट भने जस्तो समाजवादसम्म पुग्न नसकिने बताएका हुन् ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका माक्सवादी चिन्तक घनश्याम भुसालले समीर अमिनको विचार नेपालको सन्दर्भमा सान्दर्भिक भएको उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्व दलाल पुँजीसँग सचेत रहनुपर्ने उल्लेख गरे ।

‘दलाल पुँजीवाद’ को दोस्रो व्याख्याताका रुपमा विश्वभर परिचित समीरको गएको साउन २७ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । भुसालले नवगठित नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको सजावादमा पुग्न पार्टीको माथिल्ले तहमा बस्ने नेताहरुनै पहिला सुध्रिनु पर्ने उल्लेख गरे ।

‘अहिले नेता व्यापारी जस्तो, व्यापारी नेता जस्तो भएका छन् । दलाल पुँजीवादको संरक्षण माथिबाट भएसम्म समाजवाद आउँदैन । त्यसकारण सुधार तलबाट होइन माथिबाटै हुनुपर्छ, भुसालले भने ।

उनले अहिले राजनीतिज्ञ, सुरक्षा निकाय, प्रशासनको अनाआवश्यक सम्बन्ध व्यापारीहरुसँग रहेको आरोप लगाए । जनताले असाधरण मत दिएको नेकपा भित्र दलाल पुँजीका बारेमा व्यापक छलफल, विमर्श नगरे विगतमा जस्तै पार्टीले ठक्कर खाने चेतावनी दिए ।

भुसालले पार्टी क्रान्तिको एजेन्सी बन्नुपर्ने र त्यसो नभए नेकपा विघटन हुन समय नलाग्ने भविष्यवाणी गरे ।

कार्यक्रममा झलक सुवेदीले केन्द्रमा मात्र पुँजी केन्द्रित हुने अहिलको अवस्थाप्रति सत्तारुढ नेकपा गम्भीर बन्नुपर्ने बताए । समाजवादका संभावना कम हुँदै गएको अवस्थामा दलाल पुँजीमाथि नेकपाले हस्तक्षेप गर्नुपर्ने सुवेदीको सुझाव थियो ।

प्राध्यापक विद्या भट्टराईले समीर अमिनको विचार नेपालको सन्र्दभमा बढी सान्र्दभिक भएको उल्लेख गरिन् । उनले विश्वमा पुँजीवादको प्रभाव बढ्ने र पुँजीवाद धरासाही हुने क्रम सँगसँगै चलेको उल्लेख गर्दै तेस्रो विश्वमा भएको विकासलाई फरक ढंगले हेरिनुपर्ने बताइन् ।