घनश्याम भुसालमाथि संकट: बुटवल नेकपामा तरङ्ग - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

घनश्याम भुसालमाथि संकट: बुटवल नेकपामा तरङ्ग



बुटवल- नेकपाको प्रचण्ड-माधव समूहका प्रभावशाली नेता घनश्याम भुसाल अहिले संकटमा परेका छन् । उनले आफ्नो पक्षका होनाहार नेताहरूले ओली समुहलाई सहयोग गर्ने घोषणा गरेपछि रूपन्देहीमा नेकपाको राजनीति नै तरंगित बनेको छ ।

हालसम्म प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका रुपन्देहीको तिलोत्तमाका मेयर र उपमेयरसहित अधिकांश सदस्यहरूले ओली समूहमै रहेको बताएपछि नेता भुसाल संकटमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमपछि विज्ञप्ति नै निकालेर ओलीलाई साथ् नदिने बताएका मेयर बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी नेकपा ओली समूहमा प्रवेश गरेका हुन्।

नेता घनश्याम भुसालको क्षेत्रमा रहेको नगरपालिकाका मेयर र उपमेयर दुवै भुसाल निकटका नेता हुन्। यसअघि दुवै नेकपाको प्रचण्ड-माधव नेपाल समूहका कार्यक्रममा सहभागि हुँदै आएका थिए। दुवैलाई ओलीले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। तर, उनीहरुले सदस्य पद अस्वीकार गरेको घोषणा गरेका थिए।

घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको बताइएको छ । रुपन्देहीका एक नेताले नगरप्रमुख र उपप्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहलाई साथ् दिने निर्णय गरेको बताए ।

बुटवल पुगेका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए। घिमिरेको समूह परिवर्तनसँगै रुपन्देहीमा ओली समूह थप बलियो बनेको भने अर्थमन्त्री पौडेल उत्साहित बनेका छन् ।