घाइते प्रहरीलाई बचाएर सरकारको भण्डाफोर गर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घाइते प्रहरीलाई बचाएर सरकारको भण्डाफोर गर्ने



काठमाडौं । जुम्लाको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्रै गोली लागेर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको गम्भीर अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा उपचार भइरहेको छ ।

उनको शरीरमा लागेको गोली निकाल्न नसक्दा अवस्था गम्भीर बन्दै गएको हो । उनलाई थप उपचारका लागि शुक्रबार काठमाडौं ल्याउने सम्भावना रहेको छ ।

घाइते उपाध्यायलाई हेलिकप्टरमार्फत बिहिबार राति नेपालगन्ज ल्याइएको हो ।

घाइतेलाई बचाएर भण्डाफोर गर्नुछ 
डा भूमेश काफ्लेले बिहिबार राति भनेका छन्, ‘आज म कुटिएँ, मेरा दाइ, दिदी, साथीहरु कुटिए । मेरा भाइबहिनीहरु कुटिए । अस्पतालको हाताभित्र गोली चलाए नालायकहरुले । हाम्रो माग जायज थियो हाम्रो आवाज भगवानले सुने होलान् र हामीलाई चलाइएको गोली उसैको साथीलाई लाग्यो। ऊ चिच्याउँदै छट्पटाउँदै थियो ‘मलाइ बचाउनुस् म बाँच्न चाहन्छु’ भन्दै । हामीले सक्दो कोशिस गरेर बचायौं र हाम्रो आफ्नो डाक्टरलार्इ उसैको साथमा उसैको स्वास्थ्य सुरक्षा पठायौँ हेलिकप्टरमा उसको जीवन रक्षाको लागि। म केहिबेर अगाडि त्यसरी नै चिच्याउँदै मलार्इ नकुट्नुस्, मलाई नकुट्नुस् भन्दा उसले मलार्इ कुट्न छोडेन र हामीहरु घायल भयौ । छट्पटायौ । रोयौं । बिलौना गर्यौ । तर पनि आफ्नो धर्म छोडेनौं । केही बेरमा उठ्यौं । घाइतेहरुको उपचारमा जुट्यौं । हामी अब यस्तो अबस्थामा भोलि कसरी ड्यूटि जान्छौं ??’

डा विशाद दाहालले लेखेका छन्, ‘घाइते प्रहरी जवानलार्इ लिएर यतिखेर म नेपालगंज मेडिकल कलेज कोहल्पुर आइपुगेको छु । उसलार्इ जसरी पनि बचाउनु छ । गृह प्रशासनको भन्डाफोर गर्नु पर्नेछ । नझुक्किनुहोला जवानलार्इ लागेको सिसा होइन है ।’