विस्फोटमा घाइते हुनेहरुको अचम्मको बयान - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

विस्फोटमा घाइते हुनेहरुको अचम्मको बयान



काठमाडौं -आइतबारको विस्फोटमा मृत्यु हुने चारै जना विप्लवका कार्यकर्ता रहेको पुष्टि भएको छ ।

सरकार र सो समूह दुवैले यसको पुष्टि गरेका छन् । सुकेधाराको विस्फोटमा मृत्यु हुनेमा कालिकोटमा दीपेन्द्र विक, निरन्तर मल्ल र महान छन्।

त्यस्तै घट्टेकुलोमा विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ । विप्लवले विज्ञप्ति जारी गरी सबैजना आफ्ना कार्यकर्ता भएको र उनीहरूको कसरी मृत्यु भयो भन्नेबारे सत्यतथ्य बाहिर ल्याउने बताएका छन्।

घाइते भएकाहरू समेत सबै सोही समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ। सुकेधाराको विस्फोटमा घाइते हुनेमा सुरेन्द्र महर्जन, हरिचन्द्र खड्का, पूर्ण खड्का र जीतकुमार ठाकुर छन्। घट्टेकुलोमा रवीन्द्र केसी तथा थानकोटको विस्फोटमा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन्।

उनीहरू सबै सोही पार्टीमा आबद्ध व्यक्ति भएको प्रहरीको भनाइ छ। आजको नयाँ पत्रिकामा नवराज मैनाली र कृष्ण कट्टेलले संयुक्त रूपमा यो खबर लेखेका हुन्।

सोधपुछमा आइतबार सुरेन्द्र महर्जनले टाइमर मिलाउने क्रममा बम पड्केको प्रहरीलाई बताएका थिए । तर, सोमबार सोधपुछ गर्दा दीपेन्द्र र महावीरले बोलाएपछि आफू सो सैलुनमा गएको र गएलगत्तै विस्फोट भएको बताएका छन्। ‘त्यहाँ हामी चार जना थियौं, दुई जना नयाँ केटा थिए, उनीहरूलाई म चिन्दिनँ, कसरी पड्कियो मलाई थाहा छैन,’ उनले भनेका छन्।

त्यस्तै सैलुन सञ्चालक ठाकुरले पनि त्यहाँ आएका कसैलाई पनि आफूले नचिनेको दाबी गरेका छन् । आफ्नो सैलुनमा ल्याएर अरुले बम पड्काएको उनको भनाइ छ । तर, ठाकुरको पनि उनीहरूसँग चिनजान देखिएको प्रहरीले जनाएको छ।

अनामनगरको विस्फोटमा घाइते भएका रविन केसीले साथीले बोलाएपछि आफू उनको कोठामा गएको र ढोकामा पुग्नेबित्तिकै बम पड्केको बताएका छन्।

‘म शान्तिनगरमा थिएँ, साथीले बोलाएपछि गएको । ऊ अलि वरसम्म लिन आएको थियो, स्कुटर घरभन्दा अलि परै राख भन्यो,’ उनले भनेका छन्, ‘म उसको कोठामा पुगेँ । कोठामा घुमेर बाहिरबाट छिर्नुपर्ने रहेछ, एउटा हातले ढोका समाएर जुत्ता खोल्दै थिएँ, ढ्यांग आवाज आयो । मलाई अस्पताल लैजाउ भन्दै चिच्याएँ, उनीहरूले नै मलाई अस्पताल ल्याएका हुन्। बमबारे मलाई केही थाहा थिएन।’

त्यस्तै थानकोटको विस्फोटमा घाइते भएका बुद्ध र विक्रम लामाले पनि केही बताएका छैनन्। बुद्धले आफू धादिङ गएर मोटरसाइकलमा फर्कँदै गर्दा अर्को व्यक्तिले विस्फोट गराएको बयान दिएका छन् । त्यस्तै बुद्धले आफूलाई बोलाएर सामान बोक्न दिएको बयान विक्रमले दिएका छन्। सो सामान लिएर मोटरसाइकलमा चढेलगत्तै विष्फोट भएको उनको भनाइ छ ।