८० वर्षपछि विश्वकपमा जर्मनीको कन्तबिजोग
रुस- साविक विजेता जर्मनी विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ। समूहगत चरणको अन्तिम खेलमा बुधबार दक्षिण कोरियासँग २-० गोलले पराजित भएपछि जर्मनी ८० वर्षपछि विश्वकपमा पहिलो चरणमै सिमित भएको हो।
यसअघि अन्तिमपटक सन् १९३८ को विश्वकपमा मात्र जर्मनीले पहिलो चरण पार गर्न सकेको थिएन। यसैगरी विश्वकपमा साविक विजेता टोली पहिलो चरणबाटै बाहिरिएको यो लगातार तेस्रो पटक हो।
सन् २०१० मा इटाली र सन् २०१४ मा स्पेन पहिलो चरणबाटै बाहिरिएका थिए। सन् १९६६ को विश्वकपमा ब्राजिल र सन् २००२ को विश्वकपमा फ्रान्स साविक विजेता टोली भएपनि पहिलो चरणबाटै बाहिरिएका थिए।
समूह ‘एफ’मा सबै खेल सकिँदासम्म स्विडेन ६ अंक जोडेर विजेता र ६ अंक नै भएको मेक्सिको उपविजेता बन्यो। दक्षिण कोरियाले तीन र जर्मनीले एक अंक जोडे। दोस्रो हाफको इन्जुरी समयमा दक्षिण कोरियाका किम यङ ग्वन र सन हिउन मिनले एक एक गोल गरेका थिए।
बुधबार नै भएको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोलले हरायो। स्विडेनको जितमा लुडविग अगस्टिनसन र आन्द्रेस ग्रान्भिष्टले एक एक गोल गरे। एक गोल भने मेक्सिकोका खेलाडीबाट आत्मघाती भएको थियो।
यसैगरी पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग २-१ गोलले पराजित भएको थियो। जर्मनीसँग दोस्रो हाफको इन्जुरी समयमा गोल ब्यहोरेपछि स्विडेनले तीन अंक गुमाएको थियो।
यता जर्मनीले पहिलो खेलमा मेक्सिकोसँग १-० गोलको पराजय ब्यहोरेको थियो। जर्मनी विश्वकपमा चार पटकको विजेता र चार पटकको उपविजेता हो। विश्वकप सर्वाधिक जित्ने टोलीमा पाँचपटकसहित ब्राजिल शीर्षस्थानमा छ।