प्रधानमन्त्री अब गीतकार पनि : ओलीको नयाँ गीत युट्युबबाट सार्वजनिक - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रधानमन्त्री अब गीतकार पनि : ओलीको नयाँ गीत युट्युबबाट सार्वजनिक



काठमाडौं- ‘स्वदेशमै रोजगारी, स्वदेशमै बास । रोजिँदैन प्रवास, अब गर्ने देश विकास’ । कविता लेखनमा परिचय बनाएका केपी ओली अब गीतकारका रूपमा पनि चिनिएका छन् ।

गणतन्त्रको दिवसको अवसरमा उनको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकास-निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । आफू प्रधानमन्त्री भएपछि उनले ल्याएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा उक्त गीत आधारित छ ।

कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी लकडाउन लागू गरिएयता २० वैशाखमा उनले यो गीत लेखेका थिए । संगीतकार अशोककुमार राईले संगीत संयोजन गरेका हुन् । “प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो,” नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य राईले भने ।

यसअघि ओलीका ‘खर्पन’ (२०४१), मेरो जून हरायो (२०६२), समृद्धिको सपना (२०७५), ‘अब आँसु खसाउनु पर्दैन’ (२०७७) कविता प्रकाशित छन् । कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उहाँका केही कविता प्रहरीले त्यतिबेलै जफत गरेर लगेको थियो ।

करिब १५ कारागारमा रहँदा कविता लेख्ने गरेका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन् । छरिएर रहेका गायक–गायिकालाई मोबाइलमा स्वर भर्न लगाएर संगीतकार राईले तिनको संयोजन गरेका हुन् । “लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायक–गायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरेँ,” राईले भने ।

अन्तरा सांगीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ, जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गरेका छन् ।

यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने राईको विश्वास छ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका सबै नेपालीलाई सम्मान र सुस्वास्थ्यको कामना गरिएको गीतलाई लकडाउन खुलेपछि परिमार्जन गरिने राईले बताए ।

‘खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नांगा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।’