कमल थापाले एकै वर्षमा तोडे गीता छोएर खाएको कसम - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

कमल थापाले एकै वर्षमा तोडे गीता छोएर खाएको कसम



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले अत्यन्तै भारी मन बनाएर राप्रपाबाट अलग भएको बताएका छन् । ‘अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु’, उनले भने ।

आफ्नो कुराको सुनुवाइ नहुने भएपछि आफूले पार्टी छोड्ने निर्णय लिन बाध्य भएको उनको भनाइ छ ।

‘पार्टीभित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने मेरो उद्देश्य थियो । यसरी पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, उनले थपे ।

पार्टी छोडे पनि थापाले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको स्पष्टसमेत पारे ।

करिब तीन वर्षअघि पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गर्दा थापाले अब राप्रपा कहिल्यै नफुटाउने भन्दै भागवत गीता छोएर कसम खाएका थिए । केही महिनाअघि सम्पन्न पार्टीको महाधिवेशनको उद्घाटनमा पनि उनले यही कुरा दोहोर्याएका थिए ।

तर, अध्यक्षमा राजेन्द्र लिङ्देनसँग अप्रत्यासित रूपमा पराजित भएपछि थापा विचलित भएका हुन् ।