गायक विष्णु खत्री माओवादीको सक्रिय राजनीतिमा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

गायक विष्णु खत्री माओवादीको सक्रिय राजनीतिमा



बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

गायक खत्रीले विकास र सामाजिक रूपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु । कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्वमै रहेर काम गर्नु उचित ठानेँ,” उनले भने ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसंगीत क्षेत्रको टेवा र उत्थानमा सधैँ क्रियाशील भएर लाग्ने उनले बताए ।

गलकोट–७, मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।

उनी वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उमेदवारका रूपमा सिफारिस समेत भएका थिए । लोकसंगीत क्षेत्रमा रुचाइएका गायक/सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन् ।

शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसंगति, गरिबी, उत्पीडन, अभाव र छुवाछुतजस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’लगायत गीत चर्चित छन् ।

माओवादी केन्द्रले नगर समितिको अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गंगा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

ज्येष्ठ सदस्य आत्मराम शर्माको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । ६५ सदस्यीय नगर समिति गत मंसिरमै सर्वसम्मत निर्वाचित भए पनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो । आकांक्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन । रासस