प्रधानमन्त्रीले एक घण्टा फकाएर जिताउने जिम्मा लिँदा पनि गौतमले मानेनन् - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्रीले एक घण्टा फकाएर जिताउने जिम्मा लिँदा पनि गौतमले मानेनन्



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफलपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर एक घण्टा फकाएका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच साँझ दुईघण्टा भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई राष्ट्रियसभा सदस्य जसरी पनि लैजाने अडान राखेका थिए भने प्रचण्डले पार्टीको निर्णय मान्नुपर्ने भन्दै गौतमलाई लैजानुपर्ने अडान राखेका थिए ।

प्रचण्ड सकारात्मक बन्न नसेकेको र सचिवालयका अरू नेताको विचार बुझेपछि मात्रै निर्णय लिनुपर्ने भन्दै प्याकेजमै छलफल गरौँ भन्दै बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार खतिवडाको विषयमा प्रचण्ड सकारात्मक बन्‍न नसेकपछि उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएको हो । गौतम साँझ सातबजे बालुवाटार पुगेका थिए । करिव एक घण्टा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई फकाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको चुनाव लड्न आग्रह गर्दै उपयुक्त स्थानबाट लडाउने र जिताउने जिम्मा आफूले लिने समेत बताएको स्रोतले बताएको छ । तर, गौतमले भने पार्टीले निर्णय गरेकैले सोहि निर्णय अनुसार आफूलाई राष्ट्रियसभामा नियुक्त गर्नुपर्ने बताएका थिए । गौतमले ओलीसंग आफूलाई अब चुनाव लड्ने इच्छा नभएको पनि बताएका थिए ।

उपाध्यक्ष गौतमले आजै प्रचण्डलाई पनि खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा राष्ट्रियसभामा सिफारिस गर्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ ।

गौतमले केही दिनअगाडि अध्यक्ष ओलीलाई टेलिफोन गरेर फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्न दबाब दिएका थिए । तर, प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रियसभा सदस्य नियुक्त गरेर अर्थमन्त्रीमा निरन्तरता दिनुपर्ने अडान राख्दै आएका छन् ।