वामदेव गौतमले भने: ओलीले पार्टी फुटाउने तयारी गरेका छन् - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

वामदेव गौतमले भने: ओलीले पार्टी फुटाउने तयारी गरेका छन्



काठमाडौं- नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाउने तयारी गरिरहेको आरोप लगाएका छन् । बिहीबार आफ्नै निवासमा युवा विद्यार्थीसँगको भेटमा नेता गौतमले यस्तो आरोप लगाएका हुन् ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरु गौतमलाई भेट्न बिहीबार उनकै निवासमा पुगेका थिए । भेटमा गौतमले नेकपाको आगामी बैठकमा दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्तावमा छलफल हुने समेत बताए ।

उनले अध्यक्ष केपी ओली पार्टी विभाजनतर्फ अग्रसर भएको बताउंदै आफूहरू पार्टी बिभाजन हुन नदिने लाइनमा रहेको जिकिर गरे ।

तामाङसँगै सो संगठनका दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेता गौतमनिवास पुगेका थिए ।

विद्यार्थी नेताहरूसंग गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाएका थिए । अहिलेको अवरोधको कारक ओली नै भएको भन्दै उनले ओली पार्टी विभाजनतर्फ उन्मुख भएको आरोप लगाएका थिए ।

गौतमले प्रधानमन्त्रीको शैली हेर्दा उनी पार्टी मिलाउनुपर्छ, एकता बचाउनुपर्छ भन्नेमा नभई संकटकाल लगाएर संसद् विघटन गर्नेतर्फ उन्मुख भएको बताएका थिए ।