राष्ट्रपतिलाई गौतमले भने: विधि र पद्दति जोगाए पार्टी फुट्दैन
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् ।
मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।
करिव आधा घण्टा भएको छलफलमा गौतमले विधि र पद्दति सहित पार्टी जोगाउनुपर्ने बताएका थिए । उनले पार्टीमा विधि र पद्दति नभएको राष्ट्रपति समक्ष संकेत गरेका थिए ।
भेटमा राष्ट्रपतिले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन पहिले पनि भूमिका खेलेकाले अहिलेपनि त्यस्तै भूमिका खेल्नुपर्ने समय आएको बताएकी थिइन् । पहिले जस्तै अब पनि त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने राष्ट्रपतिको जिज्ञासामा गौतमले म पार्टी एकता जोगाउनै लागिरहेको छु भन्दै जवाफ फर्काएका थिए ।
गौतमले पार्टीमा विधि र प्रक्रिया नमिलेकाले प्रचण्ड, माधव, झलनाथ कमरेड लगायत सबै एकता जोगाउने, विधि र पद्धति स्थापित गर्ने कुरामै लागेको बताएका थिए ।
नेकपाभित्रको पछिल्लो विवाद फेरि उत्कर्षतिर पुगेका वेला राष्ट्रपतिले गौतमलाई बोलाएर दिएको सुझाबलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।