गाउँपालिकाको पहलमा अव्यवस्थित रुपले निर्माण गरिएका घर, टहराका संरचना हटाइए - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

गाउँपालिकाको पहलमा अव्यवस्थित रुपले निर्माण गरिएका घर, टहराका संरचना हटाइए



गोविन्द बीसी / बौनिया,कैैैलाली । 

मापदण्ड विपरीत अव्यवस्थित रूपमा निर्माण गरिएका घर-टहरा, नीजि र सार्वजनिक भौतिक संरचना हटाइएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मूख्य सडक क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाएको हो ।

गाउँपालिकाले गएको असार ३ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार असार मसान्त देखि असोज १ गतेसम्म सडकक्षेत्रमा अनाधिकृत रूपमा निर्माण गरिएका नीजि संरचना हटाउन आग्रह गरेको जनाएको छ ।
सूचना जारी गरिएको ६ महिनासम्म पनि सडकले चर्चेको क्षेत्रमा निर्माण गरिएका नीजि संरचना नहटाइएपछि अहिले डोजरको प्रयोग गरेर हटाएको छ ।

दशैतिहारको समयमा घर, हटाउदा स्थानीयलाई समस्या हुने देखिएपछि रोकिएको कार्य गत मंसिर दोस्रो सातादेखि थालिएको हो ।

गाउँपालिकाको पहलमा मापदण्ड विपरीत निर्माण गरिएका संरचना व्यवस्थित गरिएपछि अहिले सडकपुर बौनिया बजारको सुन्दरता समेत फेरिएको छ ।

यसअघि साँघुरो देखिएको बजार तथा राजमार्ग क्षेत्रमा निर्माण गरिएका अव्यवस्थित संरचना भत्काइएपछि परिवर्तन आएको स्थानीय ब्यवसायीले बताएका छन् ।
अहिले सडक फराकिलो भएको र सवारी दुर्घटनाको जोखिम समेत घटेको बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले बताए । उनले बजारको विकास, व्यवस्थापन र सरसफाइका लागि काम गरिरहेको बताए । सामाजिक बिकास निर्माण कार्यमा आफ्नो सबैलाई साथ रहने सुनारले बताए ।

बर्दगोरिया गाउँपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मूख्य राजमार्ग देखि दायाँबायाँ दुबैतर्फ २५ मिटर भित्रसम्म पर्ने तथा राजमार्गमा बनाइएका संरचाना लगायत सामाग्री हटाउन अभियान शुरु गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले जानकारी दिए ।

हटाइएका भौतिक संरचनामा बौनिया बजारमा निर्माणाधिन यात्रु प्रतिक्षालय, प्रहरी बिट, बौनिया प्रहरी चौकीको प्रवेशद्वार, विद्युत पोल, अव्यवस्थित ढुंगा, बालुवा, खोकामा राखिए तरकारी, फलफूल र किराना पसल रहेका छन् ।

भत्काएका संरचनाहरु कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह नभई सडक विस्तारका क्रममा मापदण्ड विपरीत घर सडकमा परेपछि हटाइएको बर्दगोरिया गाउँपालिका प्रमुख बलिराम चौधरीले बताए । यो अभियानमा सबैको साथ र सहयोग रहेकोे अध्यक्षको भनाइ छ ।