गाँठो नफुकाउदा उत्पन्न हुने चार परिणाम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गाँठो नफुकाउदा उत्पन्न हुने चार परिणाम



– ई. डम्बर बहादुर सुनार

कुनै पनि संगठन आफैमा जिवन्त हुदैन, जिवन्त बनाउने काम भनेको त्यस भित्र नेतृत्व गर्ने पात्र र अन्तर्निहित अंगहरुलाई कत्तिको चलायमान राखेको छ त्यसमा भर पर्छ । संगठनलाई पद्दतिमा चलायमान बानाउने काम भनेको बिधान र ऐनले गर्दछ । बिधान र ऐनमा रहेका निर्जीव अक्षरहरुमा कुनै जीवन हुदैन । ति अक्षरहरुमा जीवन भर्ने काम संगठन संग गाँसिएका पात्रहरुको कर्मले गर्ने हो ।

अहिले ने. बि. संघ भित्र कुन पात्रले संगठनमा अक्शिजन भर्न सक्छ, सबैको चासोको बिषय बनेको छ । नियमित महाधिबेशन नहुनुले संगठनले संचालन गर्नु पर्ने गतिबिधि र संगठनले पाउनु पर्ने नेतृत्व समयमै नपाउँदा संगठनले गति समाउन सकेको थिएन । ११ औ महाधिबेशन मार्फत जाम भएको एउटा प्रक्रियाले निकाश पाउदा सबैमा नबिन उत्साह र उमङ्ग छाएको थियो। तर १२ औ महाधिबेशनको पूर्व सन्ध्यामा अधिबेशनको प्रकृयाले ठोस गति नपाउदा अहिले हजारौ नेता तथा कार्यकर्ताहरु अन्योलमा छन् । एक थरि जसरी पनि अधिबेशन हुन्छ भनि रहेका छन् भने अर्को थरि कुनै पनि हालतमा अधिबेशन सम्भव छैन अबको बाँकी समयमा भन्ने गरेका छन् । महाधिबेशन र यसको प्रक्रियाको बिषयमा सबैका आ-आफ्ना मत छन् । लोकतन्त्रमा जति संख्या हुन्छ त्यति मत हुन्छ, जति मत हुन्छ त्यति मतान्तर हुन्छ । त्यसैले संगठनको जिवन्त प्रक्रियामा विभिन्न मतहरु प्रकट हुने कुरा कुनै अस्वाभाविक होइन ।

अधिबेशन हुन्छ भनेर आफ्नो पल्ला भारि बनाउनेहरुको आफ्नै तर्क छ । अधिबेशन सफलतापुर्बक सम्पन्न गर्दा बर्तमान केन्द्रिय समितीले सम्पूर्ण रुपमा जयको अंशियार भएर जसको भारि बोकेर बहिर्गमन हुदा आगामी दिनमा राजनीतिमा निरन्तरताको यात्राले गतिलो लय समात्छ भन्ने कुराको तर्कलाई आत्मसाथ गर्दछन । राजनीतिमा एउटा सफलताको ब्याज निकै पछि सम्म खान पाउने प्राबधान हाम्रो देशको राजनीतिक व्यवस्थामा झाङ्गिएर बसेको हुनाले अधिबेशन मार्फत चुनौतिको पहाड पन्छाउदै आगामी दिनको राजनीतिक यात्रा सुनिश्चित गर्ने दाउमा एउटा पक्ष देखिन्छ । दुई बर्षको कार्यकालको समयावधिमा जगमा कुनै पनि ईटा थपेको नजिर नभएको हुनाले थपिएको तीन महिना भित्र अधिबेशन सम्पन्न गर्न कठिन छ भनेर आफ्नो तर्क पेश गर्नेहरुको जमात पनि आफ्नो तर्कलाई अब्बल ठानीरहेका छन् । यस्तो भनिरहदा अर्को पक्षले भविष्यमा आफ्नो राजनीतिक यात्रालाई सुनिश्चिता गर्न नचाहेको भन्ने कुरा होइन। कुरा फरक बाटोबाट सफलता कसरि चुम्ने भन्ने हो तर अधिबेशनलाई केन्द्रबिन्दुमा राखेर ।

ने. बि. संघ भित्र केहि समूह बर्तमान नेतृत्वलाई असफल बनाउदै अपजस सबै नेतृत्वको काँधमा थुपारेर ‘ पानी माथिको ओभानो ‘ बन्ने प्रयत्नबाट प्रेरित देखिन्छन। यस्तो प्रेरणाले आफु दुधले नुहाएको र आफु इतरका सब दोषी भनेर प्रमाणित गर्छु भन्नु पनि त्यति बाञ्छनिय हुदैन । ने. बि. संघको दुई बर्षको अधिकांश समय आपसी मनमुटाव र असमझदारीमा नै सकियो भन्दा अत्योशक्ति नहोला । किनभने दुई बर्षे कार्यकालमा विभिन्न गतिविधिले देखाएको दृष्टान्तले यो दावा गलत हो भन्ने ठाउँ छैन ।

तर अधिबेशन गर्ने कुरा कुनै पनि संगठनको निरन्तरता र गतिशिलता प्रदान गर्ने ठुलो पर्व भएकोले अधिबेशनलाई विकल्प रहित ढंगबाट सफल बनाउनुको विकल्प छैन ।अधिबेशन जस्तो संबेदनशील बिषय कुनै एउटा पात्रको सफलता र असफलता संग जोडिएको बिषय होइन। यो त सम्बन्धित सबैको जित र सम्मान संग जोडिएको बिषय हो । बर्तमान केन्द्रिय समितिको दृढ ईच्छाशक्ति संग जोडिएको बिषय हो । संसारमा मानिसले कस्ता कस्ता आविष्कार र सृजनाहरु गरेर मानव जातिलाई नै चकित पार्ने क्रियाकलाप गरिसकेको बेला अधिबेशन जस्तो सामान्य र संबेदनशील बिषयलाई तार्किक निष्कर्षमा पुर्याउन कुनै कठिनाई छैन, मात्र दृढ ईच्छाशक्तिको खाँचो छ । तर महाधिबेशन गर्नलाई मार्ग प्रशस्त गरेन भने यसले निम्त्याउने समस्याले झन् बढी अन्योलता सृजना गर्ने कुरा बाट जिम्मेवार केन्द्रिय समिति र सरोकारवाला कोहि पनि भाग्न पाउदैनन । नियमित महाधिबेशनको गाँठो फुकाउने संकल्प बाट चुके भने निम्न परिणामहरु देखिने सम्भावना रहन्छ ।

१. तदर्थवाद प्रवृत्तिको निरन्तरता 

नियमित महाधिबेशन हुन नसकेको खण्डमा अर्को विकल्प भनेको टिकाप्रथा बाट संगठनको गतिबिधि संचालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना हुन्छ । ने. बि. संघको बिधानले दिएको व्यवस्था अनुरुप अबको तीन महिनामा अधिबेशन हुन नसकेको अवस्थामा स्वत: तदर्थबादको निरन्तरता नै हुन आउँछ । तदार्थबादले पार्टिको र संगठनको गतिविधिलाई चुस्तता होइन रुष्टता तर्फ डोर्याउँछ । तदर्थबादले नेता निकट व्यक्तिलाई पुरस्कृत गर्छ भने ठुलो संख्यामा रहेका नेता तथा कार्यकर्ताको नैसर्गिक अधिकारलाई , मताधिकार, तिरस्कृत गर्छ, जुन कुरा लोकतान्त्रिक पद्दतीका आयामहरु माथि प्रहार हुनु हो। महाधिबेशन कुनै पनि संगठनको गतिशीलताको ठुलो आधार हो । हामीले बिगतमा तर्दर्थबादबाट निर्मित विभिन्न साङ्गठनिक अन्योलता सिर्जना भएका घटना र परिघटनाहरु प्रत्यक्ष रुपमा देख्न पाएका छौ।

अधिबेशन गर्दा एउटा प्रक्रिया मार्फत तल्लो तहबाट संगठन शुद्दिकरण हुदै संगठनलाई अझै बढी मजबुत बनाउने काम गर्दछ । लोकतान्त्रिक अभ्यासले एउटा सिंगो प्रकृयालाई संस्थागत गर्दै संगठनको तहलाई अझै बढी मजबुद र जनमुखी बनाउछ । तर तदर्थबादले नेतृत्व उत्पादनको आकार साँघुरो बनाउछ जसले गर्दा थुप्रै क्षमता भएका ब्याक्तिहरुलाई नेतृत्वमा स्थापित हुन बाट बन्चित गर्छ । यसो हुदा अन्ततगत्वो संगठनको धरातल नै कमजोर बन्दछ र एउटा गतिलो अभ्यास, लोकतान्त्रिक अभ्यास, नै धरापमा पर्छ । आफुलाई लोकतान्त्रिक दलको हिमायती भनेर दाबि गर्ने नेपाली काँग्रेसको सबै भन्दा ठुलो भातृ संस्था ने. बि. संघले अलोकतान्त्रिक पद्दतिलाई केन्द्रबिन्दुमा राख्दै क्रियाकलाप गर्नु भनेको कुन दिशा तर्फ नेपालको आन्दोलन र भबिष्य जादै छ भन्ने कुरा अनुमान लगाउन त्यति असहज छैन । तदार्थबादले एउटा प्रक्रियालाई नै अबरुद्द पार्नुको साथै क्षमतावान पुस्ता जन्माउने भन्दा पनि चाकरिबाद पुस्तालाई जन्म दिनु हो । यसले संगठन बलियो बनाउने नभई नेताको सामिप्यतामा कसरी पुग्न सकिन्छ र नेतालाई कुन हत्कण्डा अपनाएर रिझाउन सकिन्छ भन्ने प्रेरणा बाट गाईडेड भएको हुन्छ । धरातल कमजोर हुने र नेता संग बलियो सम्बन्ध हुने प्रवृत्तिले पार्टीलाई दलदलमा पार्दछ ।
यस्तो प्रवृत्तिले युवा बिधार्थीहरुको रचनात्मकता लाई कुण्ठित बनाउछ । रचनात्मकता ह्रास भएको ब्याक्तिले नेतृत्व सफल ढंगले गर्न सक्दैन। अहिलेको समाज, विश्व पर्धिस्पर्धि युगमा कसरी अरु भन्दा अब्बल, बिकशित, रचनात्मकता र पर्धिस्पर्धि बन्ने कुरामा बढी केन्द्रित भईरहेको बेला ने. बि. संघ पुरानै ढर्राबाट संचालन गर्ने प्रयत्न गर्दा अन्तत नेतृत्व र संगठन नै धराशायी बन्ने खतरा हुन्छ ।

२. अलोकतान्त्रिक पद्दतिको हाबी र अधिबेशनको प्रक्रिया अनिर्णयको बन्दी बन्ने

नियमित चुनाबी पर्धिस्पर्धा मार्फत कुनै पनि संगठनको नेतृत्व चुनि सांगठनिक प्रक्रियाले गतिशिलता पाए लोकतान्त्रिक चरित्र द्वारा उक्त संगठन सञ्चालित भईरहेको छ भन्ने कुरा बुझिन्छ । नियमित महाधिबेशनको साटो टिका प्रथाले संगठनलाई अलोकतान्त्रिक दिशा तर्फ धकेल्छ । जब संगठन लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर अन्य प्रक्रिया अबलम्बन गर्न पुग्दछ तब त्यसले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ने हुन्छ । अलोकतान्त्रिक पद्दतिले संगठन भित्र दरार पैदा हुने, संगठनको आन्तरिक मजबुती धराशायी हुने, मतभेदले प्रसय पाउने, आन्तरिक कटुता पैदा हुने र बाह्य रुपमा पनि संगठनको तादम्यता नमिल्ने जस्ता विशेषणले संगठन ग्रसित हुन आउछ । अलोकतान्त्रिक पद्दति भित्रको सबै भन्दा ठुलो खतरा भनेको संगठन अधिनायकबाद तर्फ उन्मुख हुने र नेतृत्व निरंकुश हुने डर नै हो ।निरंकुश हुदा नेतृत्व हस्तान्तरण भनेको तदार्थबाद नै हो । कुनै एउटा व्यक्तिको चाहानामा कसैलाई स्थापित गराउने प्रपंचमा नै संगठन रमाउने गर्दछ । अन्य बिचारहरुलाई निस्तेज पारिन्छ । नयाँ विचारका अंकुराहरु नफक्रदै कुल्चिन पुगदछन । बाहिरको कुनै राम्रो पद्दतिलाई अस्वीकार गर्ने सवालमा संगठनको नेतृत्व तत्पर हुने परम्परा कायम रहन्छ ।

कुनै व्यक्ति नेतृत्वमा स्थापित कसैको चहानाले हुदा स्थापित भएको व्यक्ति स्थापित गराउने पात्रसंग जहिले पनि कन्फ़िडेन्समा रहेर काम गर्ने प्रबृत्ति रहन्छ । काखा र पाखा प्रवृति थप मलजल हुने आशंका जिवितै रहन्छ । स्थापित भएको व्यक्ति संस्था प्रति ईमान्दार भन्दा पनि व्यक्ति प्रति ईमान्दार हुने संस्कृतिले प्रसय पाउने हुन्छ । नुनको सोझो भने झैँ हरेक क्रियाकलाप आफूखुशी गर्न पाउने कुरा त परै जाओस थप भारका साथ स्थापित गराउने व्यक्तिको अन्य काममा पनि खट्नु पर्ने हुदा संगठनका गतिविधिले त्यति आकार प्राप्त गर्दैनन् । अलोकतान्त्रिक परिपाटीको अभ्यासमा अभ्यस्त हुने बानि बस्यो भने पार्टी भित्रको आन्तरिक संघर्षमा बढी समय नै बित्ने गर्दछ जसले गर्दा संगठन बाहिरका मुद्दाहरुको हल निकाल्ने सम्बन्धमा एकदम न्यून सहभागिता हुन्छ र फलस्वरूप संगठनको आयतन नै कमजोर अवस्थामा पुग्छ । बिकासका मुद्दाहरुमा युवाहरुको न्यून उपस्थति हुदा राष्ट्रले बिकासको सन्दर्भमा गतिलो फड्को मार्न सक्दैन । यसले गर्दा राजनीतिमा आबद्द हुने युवाहरुलाई समाजले हेर्ने नजर नै तिरस्कारमा परिणत हुन्छ । महाधिबेशनको दायित्वबोध लाई प्रार्थमिकतामा राख्दै बर्तमान ने. बि. संघ केन्द्रिय समितिले लोकतान्त्रिक अभ्यास मार्फत नेतृत्व हस्तान्तरण गर्न सके संगठनको साख पनि जोगिने र जनताको नजरमा संगठनको उचाई सधै नै सम्मान पुर्बक रहिरहेनेछ ।

३. गुटगत राजनीतिको बढोत्तर र सांगठनिक गतिविधिमा ह्रास

तदार्थबादले गुटगत राजनीतिक अभ्यासको दायरालाई प्रसय दिन्छ । गुटको मिसन भनेको जहिले पनि आफ्नो घेरा निर्माण गर्ने भन्दा अरु ध्याउन्ने केहि हुदैन । आफ्नो समूह निर्माण गर्दै परिधिको आकार फराकिलो कसरि बनाउने भन्ने संग मात्र उद्देश्य केन्द्रित हुन्छ । जसले गर्दा संगठन प्रार्थमिकतामा नभई गुट प्रमुख केन्द्रमा रहन्छ कुनै पनि गुटको राजनीतिमा अभ्यस्त भएको ब्याक्तिको हकमा । समूह निर्माणमा ध्यान दिदा अर्थात गुटगत राजनीतिमा लिप्त हुँदा संगठनको बैधानिक व्यवस्था नै धरापमा पर्ने डर हुन्छ भने संगसंगै संगठन भित्र बिचार भन्दा बहुबाल प्रयोग गर्ने थलो बन्ने खतरा सृजना हुन्छ । जब विचार शुन्य हुन्छ अनि त्यो पार्टी वा संगठन बैचारिक रुपमा अस्तित्वमा रहदैन । अस्तित्व हराउँदा संगठन समूहमा रुपान्तरीत हुन्छ ।

गुटको राजनीतिको अभ्यासले अरु संसाधनहरुलाई सप्रेस गर्ने हो भने कुनै मुद्दामा बिचारिक मतभेद सृजना हुने बित्तिक्कै अर्को कुनै गुटको जन्म हुने खतरा हुन्छ । यस्तो भएमा अनेकन गुटहरु निर्माण हुन्छन र संगठन भित्र भाडभैलोतन्त्र हाबी हुन्छ र टुटफुटको संघारमा पुग्छ । राष्ट्रिय स्वार्थको मुद्दा ओझेलमा पर्ने खतरा पनि उत्तिकै जीवित रहन्छ जब गुटगत स्वार्थ बढी हुन्छ । देशमा घटेका विभिन्न घटनाको बिषयमा पनि समान धारणा नबन्दा आन्दोलनको आकार नै खुम्चिने र आन्दोलनले सार्थकता नपाउने सम्भावना बढी हुन्छ । बिपक्षी तत्वले संगठन भित्र अझै बढी खेल्न पाउने सुबिधा हुन्छ । गम्भीर प्रकृतिको घटनाको बिषयमा पनि संगठनको साझा अबधारणा आउनुको साटो गुटै पिच्छे बिज्ञप्ति प्रकाशित हुने र हुदा हुदा आन्दोलन पनि मनपरी ढंगले संचालन भएका उदाहरण हामीले ने. बि. संघ भित्र ज्वलन्त रुपमा देखेका छौ । एउटा समुहले उठाएका जायज माग पनि अर्को गुटले आफ्नो अस्तित्वको लागि ओझेलमा कसरी पार्न सकिन्छ भन्ने तिर नै बढी ध्यान हुन्छ । अराजकताले संगठन जकडिन जान्छ जसको बदौलत संस्थागत नियमित काम कार्यबाही पनि संचालन हुन पाउदैनन । गुटको प्रभावको कारणले संगठनले उठाउनु पर्ने जनजीविकाका मुद्दाहरु जस्तै पेट्रोलियम पदार्थमा अचाक्ली मूल्य बृद्दि, खाधान्न बस्तुमा अनावश्यक मूल्य बृद्दि, अहिले राज्यले अप्राकृतिक तवरले लगाएको कर लागायत थुप्रै बिषयहरुलाई सडकसंग जुन प्रकारले नाता जोडाउन सक्नु पर्थ्यो ने. बि. संघले जुन कुरा चुकेकै हो ।

समुहगत क्रियाकलापले बाहिर जनतामा पनि संगठनको साख गिराउने कुरा त स्वाभाविक नै हो तर त्यो भन्दा पनि समूह संग आबद्द भएर राजनीतिलाई नै केन्द्रबिन्दु बनाएर हिड्नेहरुका लागि समुहकै नेता बन्ने या सिंगो पार्टीको नेता बन्ने भन्ने बिषयको अन्योलताले दरो गरि जरा गाडेर बस्ने सम्भावना पनि यथावत नै रहन्छ । अधिबेशन मार्फत बन्द सत्रमा हुने बैचारिक मन्थन बरु केहि दिन लम्बाएर भए पनि सम्पूर्ण प्रतिनिधिहरु मार्फत समूह निर्माण भन्दा पनि संगठन निर्माणको पक्षमा कबुल गरेर नबिन ढाँचाले संगठन निर्माण गर्ने पक्षमा पार्टीका सबै नेता तथा ने. बि. संघका अग्रज नेताहरु एउटै मंचमा उभिएर प्रतिबद्द हुनुपर्छ । यसो गर्दा आपसी असमझदारी अन्त्य हुदै कार्यकर्ताहरुमा पनि हौशला संचार हुन्छ ।

बिधार्थी संगठनको दायित्व भनेको केवल बिधार्थीहरुका मुद्दा र मागका बिषयमा मात्र केन्द्रित हुने होइन । उनीहरुको संलग्नता त्यो संगसंगै राष्ट्रिय मुद्दासंग कसरी डिल गर्ने भनें कुराको बिकाश र अनुभव बटुल्दै भोलि राष्ट्रको जिम्मेवारी पदमा पुग्दा अझै बढी परिपक्कताका साथ राष्ट्र सेवामा समर्पित हुने पनि हो । हुनत त जीवन एउटा सिकाई पनि हो, तर जीवन सिकाई हो भनेर मात्र चित्त बुझाएर बस्यौ बहने आउने पिढिको लागि सिकाउने र हौसला प्रदान गर्ने व्यक्तिहरुको जमातको खडेरी हुन्छ । बिधार्थी नेताहरुले अझै बढी रचनात्मक बन्दै नयाँ नयाँ चिन्तन र अनुभव बटुल्दै राज्यको जिम्मेवारी सम्हाल्छु भन्ने अठोट राखेर आफुलाई निखार्दै आगामी पिढीलाई एउटा सुन्दर सपना देखाउनु पनि पर्दछ ।

४. नेतृत्व उत्पादनमा खडेरी र ब्यक्तिबादी चरित्र हाबी

अधिबेशन मार्फत नेतृत्व चयन गर्न नसक्नुको पछाडी कुनै पनि संगठनलाई नेतृत्व उत्पादनमा खडेरी लाग्नु हो । ने. बि. संघ नेपाली काँग्रेसको सबै भन्दा बैचारिक, गुणात्मक र संख्यात्मक नेता तथा कार्यकर्ता जन्माउने संगठन हो । ने. बि. संघको गठन पश्चात नेपालको बिभिन्न कालखण्डमा आन्दोलनको नेतृत्व लिने देखि लिएर सरकारको नेतृत्व लिने सम्मको फेहरिस्ता हेर्ने हो भने अधिकांश पात्र ने. बि. संघ बाट नै छन । यसलाई सजिलो अर्थमा भन्दा नेपाली काँग्रेसको मात्र नभएर यो देशको नै नेतृत्व जन्माउने कारखाना हो भन्दा अर्को कुनै अर्थ लगाउने सुबिधा नसोच्दा हुन्छ । यस्तो गर्विलो ईतिहास बोकेको यो संगठनलाई विभिन्न काल खण्डमा बन्ध्याकरण गरेर नेतृत्व उतापादनामा रोक लगाउनु कतिको न्यायसंगत हुन्छ त्यो कुरा सोचनीय भएको छ यो पुस्ता माझ। दुई बर्षको कार्यकालको अवधि विभिन्न बखतमा विभिन्न कारण देखाएर ९/१० बर्ष सम्म लम्बाएर पनि अधिबेशन नहुदा कति धेरै नेता उत्पादन हुन बाट यो संगठनले नियति व्यहोरेको होला, एक पटक गहिरो चिन्तनका साथ सोच्नु पर्ने बेला भएको छ । १० बर्ष सम्म अधिबेशन नहुनु भनेको ४ ओटा सफल नेतृत्वको गर्बाशयामा नै हत्या गर्नु हो । हजारौ कार्यकर्ता हरुलाई जिम्मेवारी बिहिन बनाएर जगेडामा राख्नु हो । कल्पना गरौ जगेडा प्रथाले संगठनलाई संचालन गर्नु भनेको हामि कस्तो खालको वैज्ञानिकता सहितको बिधार्थी राजनीति गर्दै छौ । बर्तमानमा यस्तो कर्म गर्दा भबिष्यको फल कस्तो हुन्छ भन्ने हामीले हेक्का राख्ने प्रयत्न गरेउ त ? यस्तो अप्राकृतिक रुपमा सिन्डिकेटप्रथाले संगठनका क्रियाकलाप संचालन गर्नु भनेको कागतीको बोट रोपेर सुन्तलाको फलको आसा गर्नु भने जस्तै हुदैन र ?

जगेडा प्रथाले कस्तो नेतृत्व उत्पादन हुन्छ भन्ने कुराको अनुमान सहजै जो कोहिले पनि लगाउन सक्छन । त्यसैले नियमित महाधिबेशन नै निर्बिकल्प एउटा यस्तो यन्त्र हो जसले हामीले सोचेको र परिकल्पना गरेको नेतृत्व उत्पादन गर्छ । नियमित महाधिबेशन मार्फत पर्धिस्पर्धि, दुरदर्शी र स्फूर्तिमय नेतृत्व चयन गर्दा संगठन संचालन विधिवत रुपमा हुने गर्दछन तर संगठन संचालन को ढाँचा परिबर्तन गर्नु पर्दछ । यथास्थितिबादमा संगठनको गतिबिधि संचालन गर्छु भनेर कसैले सोचेको छ भने त्यो किमार्थ सफल हुदैन । सफल हुनको निम्ति पार्टी पंक्ति केवल अनुगमनको भूमिकामा सिमित हुनु पर्छ भने अनावश्यक हस्तक्षेपकारी मन्चन बाट मुक्त हुनु पर्छ र ने. बि. संघलाई स्वचालित हुन दिनु पर्छ । अनि मात्र ने. बि. संघको पंक्तिमा आत्मबिश्वास सहितको नेतृत्व स्थापित हुने र उतपादन हुने संकेत हुन्छ । ११ औ महाधिबेशनमा अपनाईएको बन्द सत्र रहितको अधिबेशनले फेरी पनि संगठनलाई बन्धयाकरणको अर्को संस्करणमा डोर्याउने भन्दा अरु केहि हुदैन । अधिबेशन गर्दा बन्द सत्रको मोडेल र प्रक्रिया परिबर्तन गर्न सकिन्छ । यसलाई अझै बढी लोकतान्त्रिक, फ़लदायिक, रचनात्मक र बैज्ञानिक कसरी बनाउने भन्ने बिषयमा छलफल गर्न सकिन्छ तर बन्द सत्र बिनाको अधिबेशन गर्नु भनेको पेट्रोल बिना गाडी चलाएर गन्तव्यमा पुग्छु भन्ने जस्तै हो । बन्द सत्रमा महाधिबेशन प्रतिनिधिहरुलाई विभिन्न समुहगत छलफल मार्फत दस्ताबेजहरु परिष्कृत गर्न लगाउदै लोकतान्त्रिक बिधि मार्फत उत्पन्न हुने जटिलताको हल खोज्ने प्रयास गर्यौ भने हामीले अवलम्बन गर्दै आएका गुटहरु न्यूनीकरण हुने आधार तय हुन्छ । हस्त्क्षेप रहित मन्थन एवं संकथनले बैचारिक र परिपक्क नेतृत्व उत्पादनमा टेवा पुर्याउछ । अत: सबैको ध्यान यता तिर आकृष्ट हुन जरुरी छ ।

एउटै व्यक्तिले लामो अवधि संगठन संचालन गर्दा महत्वकांक्ष पैदा हुने सम्भावना रहन्छ र संगै आफ्नो समूह निर्माण गर्दै हिजो प्रचलनमा रहेको पद्दतिलाई यथावत दिन पनि अधिबेशनलाई प्रभावित पार्ने षडयन्त्रको साहारा लिदै नतिजा आफ्नो तिर पार्ने गणितिय खेलको प्रपन्च हुन्छ । यसले ब्यक्तिबादी चरित्रलाई प्रसय दिनको साथै संगठनलाई धरासायी बनाउदछ। संगठनको सत्ताको खेलको पछाडी धेरै महत्वाकांक्षहरु लुकेका हुन्छन । सन् १९११ मा चीनमा जीङ शासनको बिरुद्द ठुलो क्रान्ति भयो जुन ईतिहासमा ‘ जिन्हाई क्रान्ति ‘ ले परिचित छ । तत्कालिन राजतन्त्र बिरोधि समूह र सुधारबादी समूह एक ठाउँमा आई राजतन्त्रको एकात्मत्क शासनलाई बिस्थापित गरि जनताको शासन स्थापित गर्ने उद्देश्य लिई एतिहासिक क्रान्तिको सुरुवात गरेका थिए । यो क्रान्ति पश्चात विभिन्न शासकहरुको पत्तासाफ भयो र उत्तर भूभागको नेतृत्व लिदै जनरल युआन सिकाईले शासन गर्न थाले भने दक्षिण भू भागमा डा. सुन याट सेनले शासन गरे ।

जनरल सिकाईसंग सेनामा नेतृत्व गरेको अनुभव भएको हुनाले गर्दा पछि पनि उनले सिंगो चीनको नेतृत्व लिने महत्वकांक्ष पालेको देखिन्छ । चीनलाई एकीकृत कायम राख्ने हो र अझै बढी चीनलाई शक्तिशाली बनाउने हो भने यो देशको बागडोर आफुले संचालन गर्दा सम्भव हुने भन्दै युआन सिकाईले डा. सेनलाई प्रस्ताब राखेर सिंगो देशको नेतृत्व लिएर शासन गरे र फलस्वरूप सन् १९१५ मा आफुलाई सम्राट घोषणा गर्दै अधिनायकबाद लादे । १९१६ मा उनको देहान्त पछि चीनको शासन ब्यबस्था अस्त-ब्यस्त भएको थियो । लामो समय शासन सत्तामा रहेर बस्दा युनान सिकाईमा ब्यक्तिबादी चरित्र हाबी भएको पाईन्छ र यसले के दर्शाउछ भने दिर्घकालिन समय एउटै व्यक्तिले शासन गर्दा संगठनमा एकाधिकार हुने खतरा सृजना हुन जान्छ । यस्तो अवस्थाबाट संगठनलाई जोगाउने उपाय भनेको अधिबेशनबाट स्वस्थ पर्धिस्पर्धा मार्फत नेतृत्व चयन गर्नु नै हो र सामुहिक रुपमा फराकिलो समझदारी कायम राख्दै सांगठनिक गतिबिधि संचालन गर्दा सबैको हितमा हुन जान्छ ।

(लेखक नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्षका सल्लाहाकार एवं नेपाली काँग्रेसका युवा नेता हुन् )