चोलेन्द्रलाई पदबाट राजीनामा दिन सत्ता गठबन्धनको सुझाव - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

चोलेन्द्रलाई पदबाट राजीनामा दिन सत्ता गठबन्धनको सुझाव



काठमाडौँ- सत्ता गठबन्धनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई राजीनामा दिन सुझाव दिएको छ । चोलेंद्रको राजीनामा माग गर्दै महिना दिनदेखि न्यायलयमा देखिएको विवाद समाधान गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई नै विकल्प सहित निकास दिन आग्रह गरेको हो ।

अदालतमा लामो समयदेखि भैरहेको आन्दोलनले तनाव भैरहेको बेला सत्ता गठबन्धन दलले आन्दोलनमा रहेका न्यायाधीश र बारलाई सहमतिमा लिनुस् नभए राजीनामा दिनुस् भनेर उनलाई विकल्प दिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भएको छलफलमा सत्ता गठबन्धनका नेताहरुले त्यस्तो विकल्प अगाडि सारेको हो ।

यसअघिसम्म सत्ता गठबन्धनले न्यायलयभित्रको विवादका विषयमा न्यायलय आफैले समाधान खोज्नु पर्ने बताउँदै आएका थिए । तर, बारले आन्दोलन नरोकेपछि र पेशाकर्मीले बारको आन्दोलनमा ऐक्यबद्धता देखाउन थालेपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बालुवाटारमा आज छलफल भएको हो ।

बारले १० गते मात्रै प्रधानमन्त्री देउवालाई भेटेर न्यायालय विवादका विषयमा गम्भिरतापूर्वक चासो देखाई प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका थिए । देउवाले यस विषयमा एक दुई दिनभित्रै सत्ता गठबन्धनमा छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए । त्यसपछि आज सत्ता गठबन्धन दलको बैठक बसेको हो ।

प्रधानन्यायाधीशलाई निकासका लागि विकल्प दिएका दलहरूले केही दिनभित्रै गठबन्धनको बैठकमा समेत त्यसबारे छलफल गर्ने तयारी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले केही दिनमा नै सत्ता गठबन्धनको बैठक बोलाउने तयारी गरेका छन् ।