देउवा, प्रचण्ड र नेपालबीच नयाँ सहमति: एमसीसीका कारण गठबन्धन नटुट्ने - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

देउवा, प्रचण्ड र नेपालबीच नयाँ सहमति: एमसीसीका कारण गठबन्धन नटुट्ने



काठमाडौं- एमसीसी परियोजना कार्यान्वयन गर्ने/नगर्ने भन्नेबारे बाहिर आइरहेका विषयमा सत्तागठबन्धनका प्रमुख तीन नेताहरूबीच छलफल भएको छ।

एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका धारणा र त्यसका आधारमा बाहिर आएका विषयमा नेताहरुले छलफल गरेका हुन्।

‘हामीले आज पत्रपत्रिका लगायतमा आइरहका समाचारका विषयमा गम्भीर रुपमा बसेर छलफल गर्यौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने,‘सत्यतथ्य के हो भनेर हामीले खुलेर कुरा गर्यौं। सबै नेताहरुको धारणा यी सबै मनगढन्ते हुन भन्ने नै रह्यो।’

अध्यक्ष नेपालले बालुवाटारमा भेटवार्ता सकिएपछि विद्यार्थी संगठन अनेरास्ववीयूले गरेको रक्तदान कार्यक्रममा यस्तो जानकारी गराएका हुन्। ‘पत्रपत्रिकामा दैनिक आइरहेका विषय हेरिरहनुभएको होला। विभिन्न कुराहरु आइरहेका छन्,’ उनले भने, ‘यसमा कुनै सत्यता छैन। हामी नेताहरुले छलफल गर्यौं।’

उनले गठबन्धनका विषयमा बाहिर आएका विषयमा कुनै सत्यता नभएको भन्दै अहिलेको गठबन्धन कुनै पनि हालतमा नटुटने बताए। गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुटने उनको दाबी थियो।

आजको भेटवार्तामा आसन्न स्थानीय तहको निर्वाचन र एमसीसी परियोजनाका विषयमा नेताहरुबीच गम्भीर छलफल भएको जनाइएको छ। नेताहरूले बाहिर आएका विषयमा कुनै सत्यता नभएको बताइरहे पनि गठबन्धन दलभित्रकै नेताहरुका फरक फरक धारणाले केही आशंका उत्पन्न भएपछि त्यसलाई मथ्थर पार्ने प्रयास भइरहेको छ।