सबै प्रदेशमा ओली समूहलाई निस्तेज पार्ने गठबन्धनको नयाँ रणनीति - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

सबै प्रदेशमा ओली समूहलाई निस्तेज पार्ने गठबन्धनको नयाँ रणनीति



काठमाडौँ- विपक्षी गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले नेतृत्व रहेको प्रदेश सरकारहरू हटाउनेबारे छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले ओली समुहले नेतृत्व गरेका प्रदेशमा नयाँ सरकार गठन गर्नेबारे छलफल भएको छ ।

यस्तै, बैठकले कांग्रेसको केन्द्रीय कार्य समितिबाट नै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णयप्रति विपक्षी गठबन्धनले स्वागत गरेको छ । कांग्रेसको कार्य समितिको बैठकले जारी गठबन्धनको पक्षमा पार्टी निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो ।

आइतबार साँझ देउवा निवासमा विपक्ष गठबन्धन पक्षको बैठक बसेको थियो । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा एमालेको ओली पक्षले सरकारको नेतृत्व गरिरहेको छ । स्रोतका अनुसार यी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सहितको गठबन्धन पक्षले आफ्नो पक्षमा सरकार गठनका लागि राजनीतिक पहल राख्ने भएको हो ।

बैठकमा नेकपा एमालेका नेता माधव नेपालले विपक्षी गठबन्धनमा आफू अन्तिम समयसम्म सँगै रहने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीका दोस्रो तहका नेताहरूले गरेको संवादबारे आफूलाई कुनै जानकारी नभएको उनले बैठकमा बताएका थिए ।

नेता नेपालले आफूलाई कुनै जानकारीसमेत नदिई भइरहेका छलफलको कुनै अर्थ नरहेको बताउँदै विपक्षी गठबन्धनमा नै रहने बताएका हुन् । बैठकमा उनले अब ओलीसँग मिलेर जाने सम्भावना कम हुँदै बताएका थिए ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादव सहभागी रहेको थिए ।

दोस्रोपटक संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको मिति घोषणा गरेसँगै विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध १४९ जना सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत गएका थिए । सोही मुद्दाको सुनुवाई आगामी बुधबारदेखि हुने भएको छ ।