चितवनका सातवटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

चितवनका सातवटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय



काठमाडौं- सत्ता गठबन्धनमा रहेका दलहरुले चितवनका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।

सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले तालमेलको निर्णय गरेको हो।

आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धनमा रहेका चितवनका क्रियाशील राजनीतिक पार्टीका नेतृत्वहरु बीच आज संयुक्त बैठक बसी जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरियो,’ निर्णयको पहिलो बुँदामा भनिएको छ।

त्यस्तै, जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलहरुबीच बैठक बसी चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्णमा गरी छलफल प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ। संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय गरिएको छ।

गठबन्धन सहभागी दलहरुका बीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो,’ निर्णयमा भनिएको छ।

जारी विज्ञप्तिमा कांग्रेस सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्।