गठबन्धनका दललाई झट्का: चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

गठबन्धनका दललाई झट्का: चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने



काठमाडौं- नेपाली कांग्रेसले आगामी चुनावमा गठबन्धन नगर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । उनले चुनावमा कांग्रेस एक्लै लड्ने बताए।

यससँगै अहिले गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई झट्का लाग्ने भएको छ । यी दलहरूले कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका थिए ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो।’ चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पारे। देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन्।

गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो। जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए।

बैठकमा देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने बताए।