यसकारण एमसीसीबाट 'ब्याक' भए देउवा - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

यसकारण एमसीसीबाट ‘ब्याक’ भए देउवा



काठमाडौँ – जसरी पनि एमसिसी पारित गराउन लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालका लागि यसबाट पछि हटेका छन् । कांग्रेस बाहेक गठबन्धनमा आबद्ध अन्य दलहरुले नमानेपछि देउवा यसबाट पछि हटेका हुन् ।

चुनावमा तालमेलको च्याखे थापेर एमसीसी पारित गराउने ध्याउन्नमा लागेका देउवा गठबन्धनकै सबैजसो दलले असहयोग गरेका कारण तत्कालका लागि असफल भएका छन्।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एसिसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध मााओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेपछि तत्कालका लागि देउवाले एमसीसी पारितका लागि लिएको अडान छोडेका छन् ।

शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउन अमेरिकाले मंगलबारसम्मको मात्रै समय दिएकाले पारित गराउनै पर्ने दबाबमा आफू रहेको बताएर चुनावमा गठबन्धन कायम राख्ने सर्तमा पास गराउन दवाव दिएका थिए ।

देउवाले समाजवादी र माओवादीलाई एमसिसीकै कारण गठबन्धन तोडे पनि आफू आइतबारकै प्रतिनिधिसभाको बैठकमा अनुमोदनका लागि पेश गर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘मलाई एमसिसी पारित गराउन दबाब छ। म भोलि संसदमा लैजान्छु, पारित गरौँ। तपाईहरुले भोट दिए पनि दिनुहोस्, नदिए पनि नदिनुहोस्।’

प्रधानमन्त्रीको चेतावनीयुक्त प्रस्तावको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको बताइएको छ । उनले यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने बताउँदै आफ्नो पार्टीका लागि सरकारमै बसेर सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक हुने उल्लेख गरे।

गठबन्धनको बैठकमा श्रेष्ठले भने, ‘यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिँदैन। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। यस्तो अवस्थामा तपाईंले संसदमा लैजानु भयो भने हामी भोट हाल्दैनौँ, सरकारमै बसेर विपक्षीमा मतदान गर्नु अनैतिक हुन्छ।’

बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पनि प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएका थिए। एमसिसीको विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच नै चर्काचर्की भए पनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिभसाको बैठक १० दिन पर सारिएको छ।

बैठक सार्दा फेब्रुअरी १ को डेटलाइन कट्ने र यो अवधिमा कुनै मध्यमार्गी उपायको खोजी गर्ने उद्देश्यले दलहरुको सहमतिमै शनिबार रातरात सभामुख अग्नि सापकोटालाई बैठक सार्न लगाएका थिए। एमसिसी पारित गराउने विषयमा प्रधानमन्त्री देउवाले आइतबार पनि नेताहरुसँग कुराकानी गरेका छन्। उनले टेलिफोनमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता श्रेष्ठ, समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग कुराकानी गरेका छन्।

नेता श्रेष्ठले आइतबार पनि प्रधानमन्त्रीसँग एमसिसीका बारेमा कुराकानी भएको स्वीकार गरे। उनले शनिबार साँझ बालुवाटारमा जस्तै अडान देश सञ्चारसँगको कुराकानीमा पनि व्यक्त गरे। उनले भने, ‘हाम्रो पोजिसन यथास्थितिमा एमसिसी पारित गर्न सकिँदैन भन्ने हो। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। त्यसलाई सच्याउनुपर्छ।’