देउवाले भारतसँग राख्ने एजेण्डाबारे छलफल गर्न गठबन्धनको बैठक डाकियो - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

देउवाले भारतसँग राख्ने एजेण्डाबारे छलफल गर्न गठबन्धनको बैठक डाकियो



काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । बिहान साढे १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

प्रधानमन्त्रीको आजैबाट सुरु हुने भारत भ्रमण अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक बोलाएका हुन् । भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल गर्न तथा गठबन्धनको विश्वास लिएर भारत भ्रमणमा जान उनले बैठक बोलाएका हुन् ।

भारत भ्रमणका क्रममा पनि गठबन्धनको विश्वास आफूसँग रहेको सन्देश देउवाले दिन खोजेका छन् ।

बैठकमा बैठक आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध दलहरूको समीकरणका विषयमा पनि छलफल केन्द्रित हुने बताइएके छ ।

बुधबार चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेल केन्द्रबाट नै हुने बताएका थिए । “महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा छौँ,” उनले भनेका थिए ।

तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी तालमेल स्थानीय तहले आवश्यक्ताअनुसार गर्ने निर्णय गरिसकेको छ । सो निर्णयपश्चात् गठबन्धनमा आबद्ध दलहरू समीकरण बनाउन छलफलमा जुट्न लागेका हुन् ।

अध्यक्ष प्रचण्डले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरालाई स्पष्ट पारेको पनि बताए ।