गठबन्धनको रमिता - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

गठबन्धनको रमिता



काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति गर्न सत्तारुढ गठबन्धन असफल भएको छ । लगातार बैठक र छलफल हुँदापनि कुनै कुरामा सहमति जुट्न सकेको छैन ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको ’स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति’ को बैठकमा पाँचै दलका नेताले आ–आफ्नो दाबी पेस गरेपछि सहमति हुन नसकेको हो ।

बैठकबाट आइतबार कुनै टुंगो नलागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा समितिका संयोजक एवम् काँग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँडबारे अन्य सहयात्री दलको धारणा मागेका थिए । कार्कीले बैठकमा तालमेललाई व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको बताए ।

बैठकमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरसहित धरान, जीतपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरसहित उपमहानगरमा दाबी गरेको एक नेताले जानकारी दिए ।