गरिब नागरिकलाई निःशुल्क विद्युत दिने मन्त्री भुसालको घोषणा
काठमाडौं । ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत महसुल परिमार्जन गर्नुपर्ने बताएकी छिन् । विद्युत महसुल बढी हुँदा त्यसले उत्पादन लागत बढाएको भन्दै उनले घरायसी, औद्योगिक क्षेत्रका लागिसमेत महसुल दर परिमार्जन आवश्यक रहेको बताइन् ।
मन्त्री भुसालले गरिबीको रेखामुनी रहेकाहरूलाई विद्युत निःशुल्क दिनुपर्ने समेत बताइन् ।सोमबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले विद्युत शुल्क बढी भएको बताइन् । “हाम्रो विद्युत महसुल बढी छ । त्यसले पनि उत्पादन लागत बढाएको छ । विद्युतको महसुल परिमार्जन गर्नुपर्ने देखेको छु” उनले भनिन्, “उद्योगलाई दिने विद्युत दरलाई पनि हेर्नुपर्ने छ ।”
विकासमा प्रारम्भिक स्रोत उर्जा भएको भन्दै उनले जलाशययुक्त, अर्धजलाशययुक्त आयोजनामा ध्यान दिनुपर्ने बताइन् । उनले विद्युतीय यातायातलाई प्राथमिकता दिनुपर्ने, उद्योग कलकारखानाले मागिरहेको विद्युत दिनुपर्नेमा जोड दिइन् । महसुल घटाएर विद्युत खपत बढाउनुपर्ने उनको भनाइ छ ।
“ऊर्जा कच्चा पदार्थ हो । कच्चा पदार्थबाट धेरै उपलब्धी हासिल त हुँदैन । तर, ऊर्जालाई निर्यात पनि गर्नुेपर्ने अवस्था छ,” उनले भनिन् ।
आफ्नो प्राथमिकता विद्युतीकरण हुन नसकेका क्षेत्रमा विद्युत पुर्याउने हुने उनले बताइन । “त्यो प्रसारणलाइन वा वैकल्पिक ऊर्जाबाट पनि हुन सक्छ,” उनले भनिन्, “प्रसारणलाइनलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने आवश्यकता पनि रहेको छ ।”
यो सरकारको कार्यकाल छोटो रहेको भन्दै उनले यो अवधिमा देखिने गरी केही न केही नयाँ गर्ने बताइन् । उनले कृषि उत्पादन बढाउन कृषिमा बढाउनुपर्ने पनि बताइन् ।
उपयोग गरेपछि विद्युत महसुल तिर्नुपर्छ
मन्त्री भुसालले ट्रंक र डेडिकेटेड लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरूसँग लिनुपर्ने रकम चाँडो असुल गर्नुपर्ने बताइन् । “नियम संगत ढंगबाट विद्युत महसुल असुल गर्नेुहोस् । यो मन्त्री तहमा आउनु पर्ने विषय होइन, कर्मचारीतहबाटै यो समस्या समाधान हुनुपर्छ,” उनले भनिन् ।
उनले सुशासनमा यताउता, दायाँबायाँ गर्न नपाइने भन्दै त्यो गरे सह्य नहुने समेत बताइन् ।