गंगामाया न्याय नपाएसम्म लडिरहने
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएपछि उनकी आमा गंगामाया पुनरावेदन अदालत जाने निर्णयमा पुगेकी छिन् ।
गत आइतबार चितवन जिल्ला अदालतले न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको भन्दै १२ अभियुक्तलाई सफाइ दिएको थियो ।
यसरी सफाइ पाउनेमा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारी छन् ।
५८ वर्षिय गंगामाया अधिकारीले जिल्ला अदालतको निर्णयको पूर्णपाठ पाएपछि पुनरावेदन अदालत जाने बताएकी हुन् । यसअघि १२ आरोपीलाई जिल्ला अदालतले सफाइ दिएसँगै उनले अनौपचारिक रुपमा अनशन शुरु गरिसकेकी थिइन् । उनले आफुलाई न्याय पाउने आश नरहेको भन्दै बाँच्ने इच्छा नभएको पनि बताएकी थिइन् ।
विर अस्पतालबाटै पुनः अनशन गर्न सुरु गरेकी उनलाई मानव अधिकारकर्मी र अधिवक्ताहरुले अदालतले सफाइ दिएको व्यक्तिलाई सरकारले केहि गर्न नसक्ने बरु पुनरावेदन अदालत मार्फत् मुद्दा अघि बढाउन उपयुक्त हुने सुझाव दिएपछि उनले अनसनमा बस्ने निर्णय त्यागेकी हुन् ।
तथापी जिल्ला अदालतले ४५ दिनभित्र उक्त निर्णयको पूर्णपाठ उपलब्ध नगराएमा अनसन बस्ने चेतावनी दिएकी छिन् ।
कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।
विसं २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसपछि २२ पटक पेशी सरेर फैसला भएको हो । पाँच वर्ष पुरानो सो मुद्दा अहिलेसम्म पाँच न्यायाधीशले हेरिसकेका छन् । तत्कालीन जिल्ला न्यायाधीश विनोदमोहन आचार्यले थुनछेक आदेश गरेका थिए । त्यसपछि वासुदेव पौडेल, टेकनारायण कुँवर, कविप्रसाद न्यौपाने र कुलप्रसाद शर्माले मुद्दा हेरेपनि फैसला आएको थिएन ।
गंगामायाले यो मुद्दामा पुनरावेदनमा पनि न्याय नपाएमा सर्वोच्च अदालत र त्यहाँ पनि न्याय नपाएमा अन्तर्राष्ट्रिय अदालत सम्म लाने अठोट लिएको पनि बताएकी छिन् ।