गंगामायालाई सरकारले दियो एक करोड, अब बस्ने प्रबन्ध पनि मिलाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गंगामायालाई सरकारले दियो एक करोड, अब बस्ने प्रबन्ध पनि मिलाउने



काठमाण्डौ । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।

अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।

गंगामायाको नाममा कृषि विकास बैंकमा खोलिएको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।

यस अवधिमा जम्मा हुन आएको १९ लाख ६३ रुपैयाँ ब्याजसमेत सरकारले गंगामायाको खातामा राखिदिएको छ । अनशन बसेको ३ सय ३४ दिनका दिन २०७१ असोज ६ गते पति नन्दपसाद अधिकारी बितेपछि गंगामायासँग सरकारले ५ बुँदे सम्झौता गर्दै अनशन तोडाएको थियो ।

५ बुँदे सम्झौतामा घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरी जेल चलान गर्नुपर्ने, फरार भई उत्तरी आयरल्यान्डमा बस्दै आएका अर्का मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही गर्नुपर्ने, गंगामायाको जीवन निर्वाहका लागि सरकारले १ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने, नन्दप्रसादको सद्गत गर्ने र गंगामायाले अनशन तोड्ने सम्झौता तत्कालीन कानुनमन्त्री नरहरि आचार्यले गरेका थिए । तर, सरकारले कुनै पनि सम्झौता पालना नगरेको भन्दै गंगामाया गत जेठ १५ गते पुनः आमरण अनशनमा बसेकी थिइन् ।

गंगामायाका छोरा कृष्णप्रसाद हत्याका मुख्य अभियुक्तमध्ये छविलाल पौडेलले सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेपछि सरकारले बाँकी सम्झौता पनि पूरा गर्ने अर्काे सम्झौता गरेर गंगामायाको अनशन तोडाएको थियो । गंगामायाले पटक–पटक आफूलाई सरकारले छक्याएको भन्दै अनशन तोड्न मानेकी थिइनन् ।

सरकारले उनलाई अस्पतालबाट बाहिर कतै बसोबासको प्रबन्ध गर्ने तयारी गरिरहेको छ । तत्कालीन अवस्थामा कब्जामा परेको आफ्नो घरजग्गालाई संग्रहालय बनाएर सरकारले संरक्षण गर्नुपर्ने उनको माग छ ।