गंगामायाले तोडिन अनसन, सरकारसंग यस्तो भयो सहमति - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गंगामायाले तोडिन अनसन, सरकारसंग यस्तो भयो सहमति



काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पक्राउ गर्न माग गर्दै वीर अस्पतालमा अनसन बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन्।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायालाई जुस खुवाएर अनसन अन्त्य गराएका हुन्। कानुनमन्त्री शेरबहादुर तामाङले दोषीमाथि कारबाही हुनेसहितका २ बुँदा हस्ताक्षर गर्दै अक्षरशः पालना हुने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेकी हुन्।

सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरिसकेको र अन्य अभियुक्तलाई समेत अदालत पेस गर्ने प्रतिबद्धता सरकारले गरेपछि उनी ४५ दिनपछि अनसन तोड्न तयार भएकी थिइन्।

२०७० सालदेखि पटकपटक अनसन बसेको गंगामाया पछिल्लो पटक जेठ १५ गतेदेखि अनसन बसेकी थिइन्।

छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै नन्दप्रसाद अधिकारीले अनसन सुरु गरेपछि २०७० साउनमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नन्दप्रसादको अनसनकै क्रममा २०७१ असोज ६ मा निधन भएको थियो।

द्वन्द्वकालमा चितवनको रत्‍ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो।