गण्डकी सरकार प्रधानमन्त्री ओलीका कारण ढलेको पृथ्वी सुब्बा गुरुङको आरोप - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गण्डकी सरकार प्रधानमन्त्री ओलीका कारण ढलेको पृथ्वी सुब्बा गुरुङको आरोप



पोखरा- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार रहेको बताएका छन् ।

मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताए ।

प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङले बताए । उनले सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी गरे ।

साथै अहिले बनेको गठबन्धन पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दावीसमेत गरे । उनले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङ गण्डकी प्रदेशमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । साथै दोस्रो कार्यकालका लागि उनी गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएकोमा संसदमा विश्वासको मत गुमाउँदा पदच्यूत भएका थिए ।

शनिबार संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ । पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।