जम्मा ३ सिट भएको जनमोर्चाको हातमा गण्डकी प्रदेश सरकारको भाग्य - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

जम्मा ३ सिट भएको जनमोर्चाको हातमा गण्डकी प्रदेश सरकारको भाग्य



काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई मन्त्रील राजीनामा दिएपछि अल्पमतमा परेको गण्डकी प्रदेश सरकारको भाग्य ३ जना मात्र सांसद भएको राष्ट्रिय जनमोर्चाको हातमा पुगेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एक ढिक्का छन् । ६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेसँग २७ सांसद छन् । एमालेको समर्थनमा चुनाव जितेका सांसद दीपक मनाङेको प्रदेश सभामा स्वतन्त्र सांसदको हैसियत छ ।

जनमोर्चाले सुरुआती समयदेखि नै सरकारलाई समर्थन गर्दै आएको थियो । २३ फागुनमा सर्वोच्च अदालतले नेकपाबारे गरेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पार्टी एकीकरणभन्दा अगाडिको अवस्थामा फर्काएपछि जनमोर्चा पनि नयाँ सत्ता समीकरणको टकरावमा मिसिएको छ ।

माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाएसँगै गण्डकीको प्रदेश सरकार अप्ठेरोमा पर्न सक्ने देखिएको हो । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्ने वा जोगाउने निर्णय प्रदेशसभामा मात्र तीन सिट रहेको जनमोर्चाको भागमा रहेको छ ।

तर केन्द्रीय सरकारमा जसपा ओली नेतृत्वको सरकारमा लाग्ने देखिएकाले गण्डकीमा पनि जसपाले सरकारमा सामेल हुनेबारे ठोस निर्णय गर्न सकेको छैन । यद्यपि, जसपासँग गण्डकी प्रदेशमा दुई जना सांसदमात्रै रहेका छन् ।

गण्डकीमा नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रसँग १२, राष्ट्रिय जनमोर्चासँग ३ र जसपासँग २ सांसद छन् । माओवादी केन्द्रले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन । तर नयाँ सत्ता समीकरणको खेल सुरु भइसकेको छ ।

माओवादीले समर्थन फिर्ता नलिए पनि गुरुङ नेतृत्वको प्रदेश सरकारले विश्वासको मत माग्नुपर्ने नेपाली कांग्रेसको भनाइ छ । गण्डकीमा जनमोर्चाका तीन सांसदले साथ दिए गुरुङकै सरकार अघि बढ्नेछ । यद्यपि यसबारे जनमोर्चाले निर्णय गरिसकेको छैन ।